Listen LIVE

नेपालगञ्जमा बृहद् ट्राफिक सचेतना र्याली

नेपालगञ्ज : नेपालगञ्जमा शुक्रबार बिहान दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि बृहद् ट्राफिक सचेतना र्यालीको आयोजना गरिएको छ ।

नेपालगञ्ज र कोहलपुरका विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेको उक्त सचेतना र्याली विपी चोकबाट सुरु भइ धम्बोझी चोकसम्म पुगेको थियो । र्यालीमा विभिन्न विद्यालयका सयौं विद्यार्थीको उपस्थिति रहेको थियो ।

सचेतना ¥याली पश्चात धम्बोझी चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्यूनीकरणका लागि केवल ट्राफिक प्रहरीको एक्लैको प्रयासले नहुने भन्दै सम्पूर्ण सरोकारवाला निकायहरू गम्भीर भएर सचेत हुनुपर्ने बताए ।

उनले विभिन्न कारणबाट दैनिक दुर्घटना हुने र सर्वसाधारण नागरिकको अकालमा ज्यान जाने गरेको तथा घाइते, अपाङ्ग तथा अशक्त बन्नु परिरहेको बताए । “सवारी दुर्घटना न्यूनीकरणका लागि सबै सरोकारवालाको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ, सडक विभाग, ट्राफिक, चालक, यात्रु, पैदल यात्रु, विद्युत्, यातायात व्यवस्था कार्यालय, स्थानीय, प्रदेश र सङ्घ सरकार सबैको उत्तिकै जिम्मेवारी र सचेत हुनु जरुरी हुन्छ ।”

“ट्राफिक प्रहरी र चालकले मात्र चाहेर दुर्घटना न्यूनीकरण हुँदैन, स्थानीय तहले चोक र व्यस्त सडकका आकासेपुल, ट्राफिक लाइट, छाडा पशुचौपायाको उचित व्यवस्थान गर्नुपर्छ, यातायात व्यवस्था कार्यालयले पुराना सवारी चेकजाँच गर्ने, यान्त्रिक चेकजाँच गर्ने र पुराना गाडी चलाउनमा बन्देज लगाउने गुर्नपर्छ ।” ट्राफिक प्रहरी उपरीक्षक खत्रीले भने, “यात्रुहरूले पनि जेब्रा क्रसिङ र आकासे पुलको प्रयोग गर्ने, बाटो काट्दा दायाँबायाँ हेरेर सही ठाउँबाट बाटो काट्ने, सवारीसाधनको गती हेर्ने, सवारीसाधनमा यात्रा गर्दा फुन्डिएर, छतमा बसेर, सिटभन्दा बढी भएर तथा कोचाकोच भएर यात्रा नगर्ने, विद्युत् कार्यालयले पनि सडकका बिच भागमा पोलहरू नराख्ने, सम्बन्धित निकालयले सिसी टिभी, सडक रेखा, चुस्तदुरुस्त राख्नुपर्छ, चालकले पनि बस स्टपमा मात्र गाडी रोक्ने, लेन अनुशासनको पालना गर्ने, तीव्र गतिमा नकुदाउने, सही ठाउँमा यात्रुलाई चढाउने र झार्ने गर्नुपर्छ ।”

प्रहरी उपरीक्षक खत्रीले लुम्बिनी प्रदेशभर यस आवको साउनदेखि हालसम्म सवारी दुर्घटनाबाट ३०३ जना नागरिकको ज्यान गइसकेको बताए । “यस आवको हालसम्म लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा सवारी दुर्घटनाका कारण ३०३ जना नागरिकले अनाहकमा ज्यान गुमाउनु भएको छ, १२६३ वटा सवारी दुर्घटना भएका छन्, १९१८ जना नागरिक घाइते हुनुभएको छ, फागुन महिनमा मात्र २९ जनाको ज्यान गएको छ ।” उनले भने ।

बाँके पनि दुर्घटना बढी हुने हुने जिल्लामा रहेको भन्दै उहाँले भन्नुभयो, “बाँके पनि अत्यधिक दुर्घटना हुने जिल्लामा पर्दछ, सवारी दुर्घटनामा परेर बाँकेमा यस आवको माघसम्ममा मात्र ४७ जनाको मृत्यु भइसकेको छ भने ३१० जना नागरिक घाइते भएका छन् ।” गत आवमा लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाका कारण १०० जना बालकालिकासहित ३९५ जना नागरिकको अकालमा ज्यान गएको उनले बताए ।

सचेतना कार्यक्रमको मुख्य उद्देश्य भनेको दुर्घटना न्यूनीकरण र रोकथाम गर्ने, घाइते तथा मृत्युको स्ख्या घटाउने, विद्यार्थीहरू, यात्रु, चालक लगायत सबै सरोकारवालालाई सचेत बनाएर अकालमा कसैले पनि ज्यान गुमाउन नपरोस् र जीवनभर कोहीपनि घाइते, अपाङ्ग तथा अशक्त हुन नपरोस् भन्ने रहेको उनले बताए ।

तथ्याङ्कले पछिल्लो समयमा विद्यालयका गाडीहरू पनि बढी दुर्घटना हुँदा विद्यार्थीको समेत ज्यान जाने र घाइते भएको देखाएको भन्दै उनले स्कुल बसका चालकहरूले पनि प्रतिघण्टा ४० किलोमिटरका दरले गाडी कुदाउनुपर्ने, सिटभन्दा बढी विद्यार्थी नराख्ने तथा अभिभावक, शिक्षक तथा विद्यार्थी सबै सचेत हुनुपर्नेमा जोड दिए ।

विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको कार्यक्रममा बाँकेका निमित्त प्रजिअ खडानन्द खत्री, नेपालगन्ज उपममानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की, पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद वेलबासे, संयोजक विमल ढकाल लगायतले सम्बोधन गरेका थिए ।

सुरक्षित यात्रा नेपालको आयोजना, नेपाल बिमा प्राधिकरण, जीवन विमक सङ्घ नेपाल, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, निर्जिवन तथा लघुवीत्त कम्पनीहरूको सहआयोजना र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा कार्यक्रम सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पुस्करराज पन्तले जानकारी दिए ।

प्रतिक्रिया