Listen LIVE

बाँकेका सीडिओ जोशीविरुद्ध खनिए बाँकेका पत्रकार

नेपालगञ्ज : आफूलाई सर्वशक्तिमान ठान्ने बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडिओ) धर्मराज जोशीविरुद्ध पत्रकारसँग सम्बन्धित संघसंस्थाहरु खनिएका छन् । 

बाँके जिल्लाको सीडिओ जस्तो उच्च पदमा बसेका जोशीले मिशन टुडेका पत्रकार शुभाकर विश्वकर्मामाथि बोलेको अपशब्दप्रति नेपाल पत्रकार महासंघ र प्रेस युनियनले घोर आपत्ति प्रकट गरेका छन् । सीडिओ जोशीले पत्रकार विश्वकर्मालाई लाञ्छना र प्रयोग गरिएको अपशब्दप्रति नेपाल पत्रकार महासंघ बाँके शाखा र प्रेस युनियन बाँकेले आज विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नागरिकता नपाएको विषयमा समाचार संकलन हेतु प्रमुख जिल्ला अधिकारी जोशीलाई वैशाख ५ गते शुक्रबार दिउँसो फोन सम्पर्क गर्दा सीडिओ जोशीले पत्रकार विश्वकर्मामाथि ‘दलाल’ जस्तो घोर आपत्तिजनक शब्द प्रयोग गर्नु सिंगो पत्रकारिताको शाख र स्वाभिमानमाथिको प्रहार भएको हाम्रो ठहर छ ।’ नेपाल पत्रकार महासंघ बाँकेको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार विश्वकर्माले महासंघलाई लिखितरूपमा गराएको जानकारी अनुसार सीडिओलाई समाचारका विषयमा सोधिरहँदा किन दलाल भन्नुभयो भन्दा ‘नागरिकताको लागि फोन गर्नेलाई म दलाल नै सम्झिन्छु’ भन्ने जस्तो अत्यन्तै गैरजिम्मेवार र गैरजवाफदेही अभिव्यक्ति दिनु खेदजनक र भत्सर्नायोग्य रहेको सचिव कृष्ण ओलीद्वारा जारी विज्ञप्ति भनिएको छ ।

पत्रकार महासंघले खेद प्रकट गर्दै भनेको छ–“यस घटनाले पत्रकारहरूको प्रश्न गर्न पाउने अधिकार, सूचना पाउने अधिकारलाई कुण्ठित बनाउने कुचेष्टा गरेको छ । साथै प्रमुख जिल्ला अधिकारी जोशीसँगको संवादलगत्तै बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले फोन गरेर प्रमुख जिल्ला अधिकारीलाई फोन गरेको विषयमा केरकार समेत गर्नु शक्तिको गम्भीर दुरुपयोग हो ।’ विज्ञप्तिमा भनिएको छ ।

शुक्रबारको घटनाले स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारितालाई हतोत्साहित गरेको छ । जिल्लाकै प्रशासन प्रमुखबाट यस प्रकारको दुर्व्यवहार हुनुले सिंगो पत्रकारिता जगतलाई झस्काएको विज्ञप्तिमार्फत जनाइएको छ । 

नेपाल पत्रकार महासंघ बाँके पत्रकारहरूको व्यक्तिगतसँगै पेशागत सुरक्षाका लागि सम्बन्धित सबै सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारीको पत्रकार र मिडिया जगतप्रतिको स्पष्ट धारणा यथाशीघ्र माग गरेका छ । अन्यथा पत्रकार महासंघ बाँके शाखाले सीडिओ जोशीविरुद्ध थप कदम चाल्न बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।


प्रतिक्रिया