भालुबाङ : नेपाल धितोपत्र बोर्डको आयोजना एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको सहकार्यमा लुम्बिनी प्रदेशका आर्थिक पत्रकारका लागि एक दिवसीय पुँजीबजार सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भालुबाङमा सम्पन्न भएको छ ।
प्रदेशभरका पत्रकारहरूलाई पुँजी बजार सम्बन्धि रिपोर्टिङ गर्न सजिलो होस् भन्ने उद्धेश्यले तालिम आयोजना गरिएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंले जानकारी दिए । पत्रकारहरूलाई आर्थिक विटमा कलम चलाउनका लागि यो तालिमले महत्त्वपूर्ण सहयोग पुर्याउने उनको भनाइ छ । “पत्रकारहरूले आर्थिक विषयमा कलम चलाउन धेरै प्राविधिक कुराहरू सिक्नुपर्ने छ,“ चौलागाईंले भने, “सरकारले पत्रकारहरूको क्षमता तथा सीप विकासका लागि लगानी गर्नुपर्छ ।“
तालिममा पुँजी बजार, धितोपत्र बोर्ड, बजारको जोखिम पहिचान, बित्तीय साक्षरता, पुँजीबजार सम्बन्धि रिपोर्टिङलगायतका विषयमा प्रशिक्षण दिइएको पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्माले बताए । “मोफसलमा विधागत पत्रकारिताको विकास गर्नु चुनौतीपूर्ण भए पनि हामी क्षमता विकासका तालिममार्फ पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न खोजेका छौं,“ महासचिव शर्माले भने, “आगामी दिनमा प्रदेशका १२ ओटै जिल्लामा पुगेर पत्रकारहरूलाई तालिम प्रदान गर्ने हाम्रो लक्ष्य रहेको छ ।“
तालिमको प्रशिक्षकमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका सहायक प्रवन्धक मुराहरी पराजुली, नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक अजय ढुंगाना र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सहायक प्रवन्धक सुरज कार्की रहेका थिए । राजधानीमा पुँजीबजार सम्बन्धि विभिन्न तालिम तथा प्रशिक्षणहरू सञ्चालान भए पनि प्रदेशस्तरमा यसप्रकारको कार्यक्रम पहिलोपटक सञ्चालान भएको महासंघका सचिव गोविन्दप्रसाद शर्माले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार