Listen LIVE

बाँकेको जनजीवन सामान्य बन्दै, चहलपहल बढ्यो

नेपालगञ्ज : जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपालगञ्जसहित बाँकेको जनजीवन क्रमशः सामान्य बन्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरी निषेधाज्ञा जारी राखे पनि नेपाली सेनाले जारी गरेको कफ्र्यू आदेश खुकुलो हुँदैजाँदा यहाँको अवस्था सामान्य बन्न लागेको हो ।

नेपाली सेनाको नियमित गस्ती माइकिङ र सुरक्षाका कारण बिहीबारदेखि बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरा बजारक्षेत्र शान्त रहेपछि शुक्रबारदेखि सबै पसल व्यवसाय सञ्चालनमा आएका छन् । 

विहीबार नेपालगञ्जस्थित कारगारमा आगजनी गरेर कैदी बन्दीले भाग्ने असफल प्रयास गरेपछि सेनाले गोली चलाएर अवस्था नियन्त्रणमा लिएको थियो । शुक्रवार बजारमा चहलपहल बढेको छ भने यातायातका साधनहरु उल्लेख्य मात्रामा चल्न थालेका छन् । 

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरी निषेधाज्ञा जारी रहेको सूचना प्रकाशित गरेर भेला, जुलुस, प्रदर्शन र होहल्ला गर्न नपाइने जनाएको छ । अहिले बाँकेको स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले अधिकांश पसल र व्यवसाय सुचारु भएको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताए । 

सेनाले जारी गरेको कफ्र्यू हटेसँगै जिल्लामा बजार, यातायात तथा अन्य सेवा पुनः सञ्चालनमा आएका छन् । गत तीन दिनदेखिको बन्दले मजदूरी गरेर दुई छाक टार्ने तथा रिक्सा चलाउनेहरु सबैभन्दा बढी पीडित भएको उनीहरुले जनाएका छन् । ब्याट्री रिक्सा चलाउँदै आएका नेपालगञ्ज –११ का नन्कु शेषले तीन दिन रिक्सा नचलाउँदा घरमा खाने पैसा सकिएकाले विहीबारबाटै छिटपुट रिक्सा चलाएको र शुक्रवारदेखि पूर्णरुपमा चलाउन थालेको बताए । 

यसैविच नेपालगञ्ज वडा ११ ले वडाभित्रको सरसफाई निरन्तर गरिरहेको जनाएको छ । वडाध्यक्ष नन्दकिशोर कश्यपले बन्द, निषेधाज्ञाको समयमा पनि सरसफाई जारी राखिएको बताए ।

प्रतिक्रिया