नेपालगञ्ज : इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औँ जन्मोत्सव मुस्लिम समुदाय धुमधुमकासाथ मनाइरहेका छन् ।
नेपालमा रहेका मुस्लिमसमुदायहरु उल्लासमय तरिकाले मोहम्मद डे मनाइरहेका छन् । बाँकेको नेपालगञ्जमा पनि मुस्लिम समुदायले मोहम्मद डे हर्षोल्लासका साथ मनाइरहँदा रौनक बेग्लै किसिमको बनेको छ ।
नेपालगञ्जका मुस्लिम समुदायले सोमबार र्याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, पैगम्बर मोहम्मदको उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एक अर्कामा शुभकामना साटासाट गर्ने जस्ता क्रियाकलाप गर्ने चलन रहेको मुस्लिम धर्म गुरु एवं मदरसा परिषद्का पूर्व उपाध्यक्ष मौलाना मन्सुर आरफीले बताए ।
मोहम्मद डेको अवसरमा नेपालगञ्ज बजारलाई झिलिमिली बनाइएको छ । मौलाना आरफस्ले संविधानको दायरामा रहेर सबै धर्मावलम्बीले आ–आफ्नो धार्मिक स्वतन्त्रताको प्रयोग गर्न पाउने भन्दै धर्म र सामाजिक सद्भाव विरोधी क्रियाकलापमा नलाग्न सचेत गराए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विभिन्न धर्मावलम्बी, जातजाति र संस्कृतिमा आस्था राख्ने आम नेपालीहरूले सामाजिक सद्भाव कायम राख्न सदियौँदेखि प्रदर्शन गरेको एकतालाई कायम राख्न अपिल गरे ।
विभिन्न धर्म, सम्प्रदाय र जातिका नाममा पछिल्लो समय भइरहेका गलत गतिविधिलाई निरुत्साहित गर्ने दायित्व सबैको भएको बताउँदै उनले नेपालको संविधानले कायम गरेको धर्मनिरपेक्षताको मर्म र एकै स्थानमा मिलेर बसेको नेपाली समाजलाई कुनै पनि नाममा भड्काउने काम नगर्न अपिल गरे ।
नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन कादरीले हिंसा, अशान्ति र गलत काम सबै धर्मले बर्जित गरेको भन्दै इस्लाम धर्मावलम्बीको विशेष पर्व मोहम्मद डे का अवसरमा सबैले सामाजिक एकताको सकंल्प गर्नुपर्ने जिकिर गरे । उनले धर्म, जातजाति, धनी, गरिब, फरक लिङ्गलगायत कुनै पनि आधारमा कसैले पनि विभेद गर्न नपाइने बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य एवं जनता समाजबादी पार्टीकी केन्द्रीय सदस्य अम्बिका काफलेले नेपालको संविधानको मान्यता प्रतिकूल क्रियाकलाप दण्डनीय भएको भन्दै कसैको अधिकारमाथि आँच आउने काम नगर्न र कसैले त्यसो गरेमा सरकारको निकाय नियन्त्रणका लागि सक्षम रहेको बताइन् ।
मुस्लिम इत्तेहाद सङ्गठन बाँकेका अध्यक्ष मोहम्मद सफिक बेहाले समाजमा एकता र सद्भाव खलबलिने काममा नलाग्न सबैलाई आग्रह गरे । उनले फरक धर्म र संस्कृति मान्ने आम नेपालीले एक अर्काप्रति सम्मान र सद्भाव राखेकै कारण नेपाल शान्ति भूमिका रूपमा चिनिएको भन्दै त्यसको मर्मअनुसार आफ्ना क्रियाकलाप गर्न सबैलाई अनुरोध गरे ।
मोहम्मद डे को अवसरमा सोमबार नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । मुस्लिम अगुवाहरूले मोहम्मद डेको अवसरमा नरैनापुर मात्र नभएर सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार