Listen LIVE

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाहद्वारा विभिन्न निर्णय

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनिस्थित रहेको पश्चिम नेपालकै मुस्लिम समुदयाको सबै भन्दा ठूलो धार्मिक संस्था दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिको शनिबार बसेको प्रथम बैठकले मस्जिद, मदरसाका कार्यहरुको समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने कार्यक्रमको बारेमा छलफल गरेको छ ।

दारुल उलुम फैजुन्नबी जामा मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँको अध्यक्षतामा बसेको बैठकले विगत केही वर्षदेखि संस्था नविकरण नरहेकोले तत्काल नविकरणका लागि जिल्ला प्रशासन कार्यालयद्वारा गठित आर्थिक छानबिन समितिलाई तत्काल काम सम्पन्न गरी नविकरण गराउन समन्वयकारी भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारीसंग अनुरोध गर्ने र पाँच महिनादेखि तलब नपाएका कर्मचारीहरुलाई १० दिनभित्रै तलब दिने निर्णय गरिएको महासचिव हाजी ऐनुद्दीन अन्सारीले जानकारी दिए ।

बैठकले अध्यक्ष मियाँ, उपाध्यक्ष हाजी रौनक अली अन्सारी र कोषाध्यक्ष हाजी मोहम्मद हुसेन हल्वाईको हस्ताक्षरमा खाता सञ्चालन गर्ने निर्णय गरेको छ भने निर्माणधिन अवस्थामा रहेको जामा मस्जिदको निर्माणको कामलाई तिब्रता दिने समेत बैठकले निर्णय गरेको छ । कोषाध्यक्ष हल्वाईको प्रत्यक्ष निगरानीमा निर्माण भईरहेको समितिले जनाएको छ ।

बैठकले संस्थाको कार्यसमितिका सदस्य एंव पत्रकार आलम खानलाई प्रवक्ता नियुक्त गरेको छ । धार्मिक विषयमा मस्जिदका मुफती जाफर रजालाई बोल्न पाउने अधिकार प्रत्योजन गरेको कोषाध्यक्ष मोहम्मद हुसेनले जानकारी दिए ।

बैठकमा आउँदै गरेको मुस्लिमहरुको पवित्र महिना रमजान लगायतको तयारीका विषयमा छलफल गरिएको अध्यक्ष मियाँले बताए । अध्यक्ष मियाँको अध्यक्षतामा भएको बैठकको सञ्चालन सहसचिव अब्दुल अजीज काजी अन्सारीले गरेका थिए । बैठकमा कार्यसमितिका सदस्यहरु र बरिष्ठ सल्लाहकार सैयद रिहान मियाँ, कानुनी सल्लाहकार अधिवक्ता जमालुद्दीन अन्सारी र आर्थिक सल्लाहकार मोहशीन खान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया