बैतडी : नयाँ वर्ष नजिकिएसँगै सुदूरपश्चिम क्षेत्रका भारतीय नाकामा चहलपहल बढेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वका नामले धुमधाम साथ मनाउने चलन छ ।
बिसु मनाउन भारतबाट घर फर्किरहेका नेपालीका कारण बैतडीको झुलाघाट, दार्चुलाको दत्तु, खलंगा लगायतका नाकामा चहलपहल बढेको झुलाघाटका व्यापारी हरिदत्त जोशीले बताए । भारतको उत्तराखण्डमा पनि वैशाख १ गते बिसु पर्वका रुपमा मनाउने चलन रहेको व्यापारी जोशीले बताए ।
झुलाघाट नाका भएर सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, डडेलधुरासहित कर्णाली प्रदेशका मुगु, हुम्ला, कालीकोटलगायतका बासिन्दा पनि फर्किरहेका छन् । बझाङको बित्थडचिर गाउँपालिका २ का रामसिंह धामी गाउँलेहरुसँगै शनिबार बैतडीको झुलाघाट नाका हुँदै घर फर्किएका छन् । गत जेठमा कामको खोजीमा भारतको हिमाञ्चल प्रदेशमा पुगेका बैतडीको सूर्नया गाउँपालिका ८ का ६० वर्षका गम्भीर बोहरा आफुहरु बिसुका लागि घर फर्केको बताए ।
दसैंतिहारभन्दा बिशु र गौरा पर्व मुख्य चाँडका रुपमा मनाउने गरेको बोहराले बताए । सुदूरपश्चिममा दसैंलाई पूजाआजा तथा नवरात्रीको रुपमा मात्रै मनाउने परम्परा रहेको बोहराले बताए ।
पोहोर साल नयाँ वर्षमा बिसु मनाएर मजदुरीका लागि भारत पसेकाहरु झुलाघाट नाकाबाट घर फर्किरहेको झुलाघाटका अर्का व्यापारी तिलकबहादुर चन्दले बताए । दश–बाह्र वर्षअघिसम्म पनि संचारको सुविधा नभएका बेला कामको सिलसिलामा बाहिर रहेकाहरु नयाँ वर्षमा बिसु पर्व मनाउन घर नफर्किए मृत्यु भइसकेको अड्कल गरिने हुँदा चाँड मनाउन चैतको अन्तिम दिनसम्म घर पुग्नैपर्ने मान्यता रहेको सूर्नया गाउँपालिका ८ का भानसिंह बोहराले बताए ।
त्यतिबेला कतिपयले वर्षदिन चाँड बिसु मनाउन घर नआए मृत्यु भइसकेको विश्वासमा काजकिरिया समेत गर्ने गरेको बझाङको बुंगल नगरपालिका ४ का नागीसिंह बोहराले बताउँछन् । ‘बिसुमा घर नआए मृत्यु भएको विश्वास गर्थे । कमाएर ल्याउन नसके पनि परिवारमै नयाँ वर्ष मनाउने पुरानै चलन हो,’ बोहराले भने । यतिबेला घर फर्किनुभएकाहरु धेरैजसो असारमा खेतीपातीको काम सकेर फेरि भारततिरै फर्कने गरेका बोहराले बताए ।
गाउँघरमा रोजगारीको अवसर नहुँदा गुजारा चलाउन भारतपस्नु पर्ने पुस्तैनी बाध्यता रहेको उनीसँगै आएका जयसिंह बोहराले बताए । सडक, बाटोघाटो जस्ता विकासका काममा डोजर जस्ता मेसिन र उपकरणको प्रयोग हुन थालेपछि सामान्य मजदुरले गाउँमा काम पाउन छाडेको दुई वर्षपछि भारतबाट घरफर्किरहेका जयसिंहले गुनासो गरे । गाउँमा आम्दानीको स्रोत नभएपछि कतिपय त बालबच्चासहित कामको खोजीमा भारत जाने गरेका छन् ।
पाखो बारीको उब्जनीले तीन महिना खान नपुग्ने भएकाले परिवारसहितै भारत पस्नुपरेको उनीहरु सुनाउँछन् । सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, बझाङ, बाजुराबाट मजदुरीका लागि भारतको उत्तराखण्ड, हिमांचल, दिल्ली, मुबम्इलगायतका सहर पस्ने गरेका छन् ।
रोजगारीको परम्परागत गन्तब्य भारतमा कष्टकर जिवनयापन गर्नुपरेको दुखेसो उनीहरुले सुनाए । ‘गाउँमा काम पाइदैन, गाली सहेर पनि भारत पस्न बाध्य छौं ।’ बित्थडचिर १ का झुसे बोहराले भने, ‘पाखोबारीमा उब्जनी हुँदैन, वर्षमा आधा समय भारत नपसी हातमुख जोर्ने समस्या हुन्छ ।’ चैतको दोस्रो सातादेखि नै नवरात्रीका लागि घर फर्कनेको संंख्या बढ्दै आएको हो । चैतको नवरात्रीमा यहाँका मन्दिरहरुमा पूजाआजा तथा जात्रा चलिरहेको छ ।
नयाँ वर्षकै दिन वैशाख १ गते पनि केदार, सिगासलगायत कतिपय मन्दिरमा पूजा लाग्ने गरेको छ । एक हप्तादेखि दैनिक तीन सय जना हाराहारी भारतबाट फर्किरहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले जनाएको छ । नाकामा भित्रिनेको संख्या बढेसँगै झुलाघाटदेखि चल्ने सवारीसाधनको संख्या पनि बढेको छ । व्यवसायीले झुलाघाटबाट बैतडी बिभिन्न गाउँसहित बझाङ, डडेलधुरा, दार्चुलासम्म जिप सेवा सञ्चालनमा ल्याएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार