Listen LIVE

बाँकेसहित लुम्बिनी प्रदेशमा विहानैदेखि वर्षा

नेपालगञ्ज : बाँकेसहित लुम्बिनी प्रदेशको विभिन्न ठाउँमा आज विहानैदेखि वर्षा भएको छ । हावाहुरीसहित विहान ९ बजेदेखि शुरु भएको वर्षा दिउँसो १ बजेदेखि रुके पनि बादल भने लागेको छ । 

वर्षाको पानी खेतमासमेत भरिन थालेको छ । पानी परेपछि यहाँ चिसो पनि महसुस भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको आज विहानको बुलेटिनअनुसार लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मकोे वर्षाको अनुमान गरिएको छ । 

हाल यो प्रदेशमा पूर्णतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, कोशी, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र र देशको हिमाली भू–भागमा बादल लागेको छ । 

त्यस्तै, पहाडी र तराई भू–भागमा आंशिक बादल लागेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ । नेपालको दक्षिणतिर अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएकोे न्यून चापीय रेखाकोसमेत प्रभाव रहेको जनाइएको छ ।

प्रतिक्रिया