दाङ : दाङको वन क्षेत्रमा डढेलोका घट्ना बढ्न थालेका छन् । सुक्खा समय सुरु भएसँगै जिल्लाका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डढेलाका घट्ना बढ्न थालेका हुन् ।
लामो खडेरीसँगै वनमा पातपतिङ्गर सुक्दा आगलागीका घटना बढ्न थालेका हुन् । घोराही उपमहानगरपालिका–३ र ५ अन्तर्गतका वन क्षेत्र तथा लमही नगरपालिका–६ अन्तर्गतका वन क्षेत्रमा डढेलो लागेको छ । वनमा लागेको डढेलोका कारण बस्तीमा समेत जोखिम बढाएको छ ।
शुक्रबारदेखि वन क्षेत्रमा फैलिएको डढेलोका कारण बस्तीमा समेत जोखिम बढाएको घोराही उपमहानगरपालिका–३, बसेरीखोला निवासी गौरी गिरी बताउँछन् । वन क्षेत्रमा आगो बढ्दै गएको र दिउँसोको समयमा हावाहुरी चल्दा बस्तीसम्मै आउँछ कि भन्ने त्रास हुने गरेको गिरीले बताए ।
वनमा डढेलो लाग्न नदिनका लागि वन समूहका सदस्यलाई सचेतनासँगै आगो लागेको अवस्थामा निभाउने उपायबारे सिकाएको भए पनि सुक्खा समय सुरु भएसँगै वन क्षेत्रमा आगलागीका घटना हुन थालेको डिभिजन वन कार्यालय दाङका वन अधिकृत मदन ढुङ्गानाले बताए ।
दाङमा ८३ वटा सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । डढेलो नियन्त्रणका लागि प्रचारप्रसारका कार्यक्रम, जोखिम क्षेत्रका विद्यालयमा पुगेर स्कुल शिक्षा, अग्निरेखा निर्माण र मर्मतलगायतका कार्यक्रम गरिए पनि मानवीय लापर्बाहीका कारण डढेलोका घटना भइरहेको बताए ।
मानवीय गल्तीका कारण बर्सेनि ठुलो जनधनको क्षति हुने गरेको हुँदा वनमा लाग्ने आगोबारे मानिस समयमा सचेत हुनुपर्ने र जथाभाबी लाग्ने आगोलाई समयमा निभाउन ध्यान दिनुपर्ने उनको जोड छ ।
वन क्षेत्रमा आगो लगाउदा घाँसपातको पालुवा चाँडै पलाउने र वर्षायाममा जङ्गली च्याउ उत्पादनमा वृद्धि गर्ने उद्देश्यले स्थानीयले वनमा डढेलो लगाउने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार