Listen LIVE

पत्रकार दाहालको सहयोगमा दृष्टिविहिन विकको घर निर्माण

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारी निवासी दृष्टिविहिनको परिवारका लागि पत्रकार खगेन्द्र दाहालको सहयोगमा घर निर्माण गरिएको छ । बर्षातको पानीले घर भत्काइदिएपछि बेघर बनेका विकलाई पत्रकार दाहाल चौतर्फी सहयोग स्वरुप निमार्ण सामग्री र केहि रकम जुटाइ घर निमार्ण कार्य सम्पन्न गरि दृष्टिविहिन जयबहादुर विकको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

दृष्टिविहिन विकको घरको उदघाटन समाजसेवी लिलबहादुर थापाले रिबनकाटेर गरे । घर हस्तान्तरण कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले सञ्चारकर्म सँगै समाजिक कार्य स्वरुप घर नै बनाइदिने अभियान सम्पन्न गर्न सफल बनेकोमा बधाईसहित धन्यबाद दिए ।

अध्यक्ष विकले पालिकाले पनि घरै नहुने र छाना नहुनेलाई प्राथमिकताको आधारमा सहयोग गर्ने गरेको बताए । उनले सहयोग गर्ने सबैलाई मानव हुनुको धर्म निभाएको भन्दै धन्यबाद दिए । खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले घर अभियान सञ्चालन गर्ने पत्रकार खगेन्द्र दाहाल र गणेश राई प्रशंसाका पात्र रहेको बताइन् । उपाध्यक्ष मल्लले सबैको सानोतिनो सहयोगले यति राम्रो घर बनाउन सक्नुनै अभियानको सफलता रहेको बताइन् ।

घर हस्तान्तरण कार्यक्रमको उदघाटन गर्दै समाजसेवी लिलबहादुर थापाले सबैले गरेको सहयोगले दिन दुःखीलाई राहत मिल्ने गरेको बताए । समावसेवी थापाले सञ्चारकर्मी भएर पनि मानवसेवा तर्फ गरेको कर्म सम्मान योग्य रहेको उल्लेख गरे ।

घर हस्तान्तरण समारोहमा वडा नम्बर ४ का पुर्व वडाध्यक्ष युवा राजनितिज्ञ तिलकविर सुनारले यस किसिमको अभियानमा सरकार सहितको सहयोग अपरिहार्य रहेको उल्लेख गरे । सुनारले घरबार विहिनहरुका लागि सरकारले नै यस किसिमको अभियान स्वरुप योजना बनाएर कार्य थालनी गर्न आवश्यक रहेको बताए ।

घर र शौचालय हस्तान्तरणका बेला समाजसेवी लिलबहादुर थापाले ६ महिना पुग्ने खाद्यान्न सामग्री प्रदान गरेका थिए । समारोहमा इलाका प्रहरी कार्यालय धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक पुर्ण केसी, सहायताका लागि सहयोगी हातहरुका अध्यक्ष पुष्पा सुनार, आदर्श युवा सञ्जालका अध्यक्ष कल्पना तामाङ, स्थानीय, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया