Listen LIVE

जयेन्दु बालसुधारबाट भागेका १५ बालबन्दी आफैं फर्किए

नेपालगञ्ज : बाँकेको डुडुवास्थित जयेन्दु बालसुधार गृहबाट हिजो दिउँसो भागेका बालबन्दीमध्ये १५ जना आफैं फर्किएका छन् ।

दिउँसो करिब सवा दुई बजे भागेका १ सय १० जनामध्ये १५ जना स्वेच्छाले फर्किएका हुन् भने एक दर्जन बालबन्दीलाई नेपालगञ्ज–९ मा पुग्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।

हालसम्म ९५ जना बालबन्दी सम्पर्कमा नरहेको बालसुधार गृहले जनाएको छ । भागेर फर्किएकालाई प्रशासनले छुट्टै राखेको छ भने प्रहरीले समातेको तथ्यांक अझै बालसुधार गृहलाई उपलब्ध गराएको छैन ।

बालसुधार गृहमा २ सय २८ जना बालबन्दी राखिएका थिए । त्यसमध्ये उत्शृंखल ९ जनालाई प्रहरीले हिरासतमा राखेर थप मुद्दा दर्ता गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा देशभर कैदीबन्दी भाग्ने घटनाहरू बढेसँगै यहाँका बालबन्दी पनि भागेका थिए ।

सीमा नजिकै भएकाले उनीहरू भारततर्फ प्रवेश गर्ने प्रबल सम्भावना रहेको सुरक्षा निकायले जनाएको छ । तर, भारतले नाकामा कडाइ गरेकाले भागेका बालबन्दी त्यहाँ प्रवेश गर्न नसकेको बताइएको छ ।

प्रतिक्रिया