जुम्ला : जुम्ला तिला गाउँपालिका ६ स्थित घोडेगाउँमा २३ पर्षपछि पुनः विद्युत पुगेको छ । नजिकैको तिला ७ पोखरी गाउँमा निकालिएको सौर्य ऊर्जाको बिजुली घोडेगाउँमा पु¥याएर बालिएको हो । लामो समयपछि बिजुली बल्दा गाउँमा खुसीयाली छ ।
२०५४ सालमा गाउँमै रहेको घट्टेखोलाको प्रयोग गरेर ५ किलोवाटको बिजुली निकालिएको थियो । चार वर्षसम्म निरन्तर बालिएको बिजुली २०५८ सालामा बिग्रियो । तत्कालीन विद्रोही माओवादी र राज्यपक्षबीच चरम द्वन्द्व चलेकोले विद्युत उत्पादन गर्ने मेसिन बनाउने वातवरण बनेन । अन्ततः मेसिन खिया लागेर बिग्रियो । तारहरू जीर्ण हुँदा बिजुली बाल्ने सम्भावना भएन ।
यसपटक भने गाउँका ८६ वटै घरमा एकसात बिजुली बल्दा स्थानीयको मुहारमा खुसी छाएको छ । गाउँमा रहेका विद्यालय, स्वास्थ्य संस्थादेखि सार्वजनिक स्थलहरूमा बिजलुी नहुँदा काम गर्न कठिन थियो । गाउँलेहरू सल्लाको काठ बालेर उज्यालाको व्यवस्थापन गरिरहेका थिए । बिजुली बलेसँगै गाउँ रातदिन उज्यालो बनेको स्थानीयले बताए ।
स्थानीय दिनेशबहादुर रोकायाले बिजली आइसकेपछि सबै अन्धकार हटेर गाउँमा उज्यालो छाएको बताए । उनले भने, ‘गाउँ त झिलिमिली बन्यो नै त्यो भन्दा बढि बालबालिकाको भविष्य उज्यालो बन्यो ।’
तिला ७ पोखरी गाउँमा उत्पादन गरिएको सौर्य ऊर्जाको विद्युतलाइन घोडेगाउँमा जडान भएको हो । भौगोलिक रुपमा निकै विकट भएकोले राष्ट्रिय प्रसारणलाइन यो ठाउँमा पुगेको छैन । आर्थिक अवस्था राम्रो भएका परिवारले सोलार प्रयोग गरिरहेका थिए । गरिब तथा विपन्न परिवार दियालो र सल्लो बालेर गुजारा चलाइरहेका थिए । स्थानीय गोगनबहादुर रोकायाले भने, ‘गाउँ नै बिजुलीले झलमल्ल बनेपछि धनीगरिब बीचको खाडल रहेन । सबैको घरहरू उज्यालिएका छन् ।’
बिजुली नहुँदा मोबाइल चार्ज गर्न, रेडियो बजाउने देखि सबै विद्युतीय सामान प्रयोग विहीन जस्तै थिए । मोबाइल चार्ज गर्न स्कुल, स्वास्थ्यचौकी र वडा कार्यालयमा धाउनु परिरहेको थियो ।
घोडेगाउँसम्म विद्युत लाइन बिस्तार गर्न तिला गाउँपालिकाले ८ लाख रुपैयँ र केन्द्र सरकारले ५१ लाख रुपैयँ बिनियोजन गरेको थियो । गाउँमा निकालिएको ५ किलोवाट विद्युत चार वर्षसम्म निरन्तर चलेको थियो । दसैंको दिनमै गाउँमा बिजुली बल्दा स्थानीय उत्साहित छन् । यो पटकको दसैंमा गाउँ झिलिमिली बनेको छ ।
अब गाउँमै कुटानी, पिसानी देखि चिरानी सम्मको काम बिजुलीबाटै हुनेछ । खोलाहरू सुक्दैजँदा हिउँदको समयमा घट्टहरू समेत बन्द हुने अवस्थामा थिए । निकै टाढाका मिलहरूमा गएर अन्न कुटानीपिसानीको काम गर्नुपर्ने बाध्यता थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार