बर्दिया : चाडपर्वलाई लक्षित गरी संभावित चोरी सिकारीबाट हुन सक्ने गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जले सुरक्षा गस्ती बढाएको छ ।
निकुञ्जका कर्मचारी र सुरक्षाका लागि तैनाथ नेपाली सेनाको संयुक्त गस्तीले चोरी सिकार हुने महत्त्वपूर्ण ठाँउमा स्विप अप्रेशन सुरु गरेको जनाएको छ ।
सेनाको टोलीसँगै निकुञ्जका कर्मचारीले संवेदनशील क्षेत्रमा स्विप अप्रेशन परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।
‘चाडपर्वको मौका छोपी चोरी सिकार हुन सक्ने भन्दै निकुञ्जका कर्मचारी, सेना लगायत संरक्षणकर्मी र चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान परिचालन भएका छन,’ उनले भने, ‘सुरक्षा व्यवस्था कडा भएका कारण चालु आर्थिक वर्षमा चोरी सिकारका घटना शून्य छ ।’
गत आवमा चोरी सिकारीले ३ वटा चित्तल मारेका थिए । दुई दशक अघिसम्म गैंडा लगायत वन्यजन्तु चोरी सिकारीले मारेका कारण बर्दिया निकुञ्ज बदनाम भएको थियो ।
द्वन्द्वकाल भने बर्दिया निकुञ्जमा गैंडा चोरी सिकारका कारण लोप हुने स्थितिमा पुगेको थियो । चितवनबाट बर्दिया निकुञ्जमा स्थान्तरण गरिएका ८३ गैंडामध्ये द्वन्द्वकालमा चोरी सिकारीबाट ३६ र प्राकृतिक कारणले २४ वटा मारिएको थियो । १५ वर्षअघि चितवन निकुञ्जबाट आठवटा गैंडा स्थान्तरण गरिएको थियो ।
करिब १५ वर्ष यता बर्दियामा गैंडा चोरी सिकार शून्य छ । ९ सय ६८ वर्ग किमी क्षेत्रफल रहेको बर्दिया निकुञ्जमा ३२ वटा सेनाका सुरक्षा पोष्ट रहेको निकुञ्जले जनाएको छ । त्यसैगरी निकुञ्जले गेम स्काउटले सुरक्षा दिने उद्देश्यले १२ वटा पोष्ट स्थापना भएको छ । हाल बर्दियामा १ सय २५ वटा बाघ र ३८ वटा गैंडा रहेका छन् । यसै गरी १ सय २० वटा हात्ती रहेको अनुमान छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार