Listen LIVE

गाउँमै गाडी चढ्न पाएपछि स्थानीय उत्साहित

बाजुरा : बाजुराको पुर्वी उत्तरी क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक र जगनाथ गाउँपालिका स्थित दुर्गम बस्तीका स्थानीय गाउँमै गाडी चढ्न पाएपछि उत्साहित भएका छन् ।

बाजुराकै दुर्गम र पिछडिएको क्षेत्रका रुपमा पर्ने यहाँका स्थानीय पुस्तौँ देखिको गाउँमै बस चढ्ने सपना पूरा भएपछि निकै खुशी भएका हुन् । कर्णाली करिडोर सडक खण्ड अन्तरगत पर्ने कालिकोटको खुलालुदेखि हुम्लाको सरिसल्लासम्म बस सुचारु भएपछि गाउँमै बस चढ्ने स्थानीयको सपना पुरा भएको हो ।

यसअघि जिल्लाको मार्तडी, कोल्टी र पीलिचौर बाट  बस् चढ्न जाँदा पाँच सय देखि दुई हजार रुपैयाँ जिपको भाडा तिर्नु पर्ने बाध्यताले ग्रसित स्थानीय अहिले गाउँ बस्तीमै बस सेवा सञ्चालन भएपछि हाल त्यही पैसाले हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरदेखि नेपालगंञ्जसम्म पुग्ने गरेको बिच्छ्याका राजबहादुर थापाले बताए ।

उनका अनुसार “यहाँका स्थानीयले बस चढ्नका लागि यस अघि मार्तडी जाँदा दुई हजार कोल्टी पाँच सय र पिलिचौर चार सय रुपैयाँ जिपको भाडा मात्र तिर्नु पर्ने बाध्यता थियो ।

अहिले खुलालुदेखि हुम्लाको सरिसल्लासम्म कर्णाली करिडोर सडकमा बस सेवा सुचारु भएपछि  गाउँ देखि बसपार्कसम्म जाने त्यो पैसाले सिधै गाउँ देखि नेपालगञ्ज पुग्ने गरेको जुकोटका स्थानीय दिपक कडाराले  बताए ।

नेपालगञ्जदेखि हुम्लाको सरिसल्लासम्म बस सुरु भएपनि अहिले हुम्ला, मुगुको सोरुकोट र खत्याड गाउँपालिका स्थानीयलाई निकै सहज भएको छ । 

२०७२ सालदेखि कालिकोटको खुलालुबाट निर्माणको काम सुरु भएको कर्णाली करिडोर सडकमा २०७४ सालदेखि बाजुराको पीलिचौरसम्म ट्याक्टर मोटर साइकल लगायतका सवारी साधान चल्न सुरु भएका थिए । 

हाल कच्ची सडकमा बस सञ्चालनमा आए पनि लगत्तै जगन्नाथ गाउँपालिकाको पिलुचौरदेखि हुम्लाको सरिसल्लासम्मको ५० किलोमिटर कालोपत्रे गर्नका लागि ४ अर्ब २५ करोड रकम श्रोत सुनिश्चितताका लागि सडक विभागमा प्रक्रियामा रहेकाले श्रोत सुनिश्चितता भइसकेपछि चाँडै सडक कालोपत्रे हुने र स्थानीयले झन् सहज सेवा पाउने हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले बताए ।

प्रतिक्रिया