Listen LIVE

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा पूजाअर्चना

जनकपुरधाम : प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रीमानका साथ हिन्दूहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार पूजाअर्चना गरेकी छन् ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले प्रधानमन्त्री कार्कीलाई हिन्दू परम्परा अनुसार नियमनिष्ठापूर्वक जानकी मन्दिरमा पूजाअर्चनाका साथै आरती गराएका थिए ।

सो क्रममा महन्थ दासले प्रधानमन्त्री कार्कीलाई फूलको माला र माता जानकीलाई चढाइएको चुनरी ओढाएर सम्मान गरेका थिए । पूजाअर्चनाका क्रममा प्रधानमन्त्री कार्कीले जानकी मन्दिरमा रहेको र नित्य दिन पूजा हुँदै आएको सवा लाख शालिग्राम भगवान्को समेत दर्शन गरेकी थिइन् । 

त्यसैगरी प्रधानमन्त्री कार्की जानकी मन्दिरमा हुँदै आएको सीताराम अखण्ड कीर्तनमा सहभागी हुँदै केही बेर सीतारामको जापसमेत गरेकी थिइन् ।

११ बजेर ४० मिनेटमा मन्दिर प्रवेश गरेकी प्रधानमन्त्री कार्कीले करिब १५ मिनेट जति मन्दिरमा पूजाअर्चना गरिन् । पूजापश्चात् मन्दिरबाट फर्किने क्रममा प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू राजनीतिक व्यक्ति नभएकाले आजको यात्रा धार्मिक भएको बताइन् ।

उनले जनकपुरधाम आएर जानकी माताको दर्शन गरेपछि आफूले धर्म गरेको अनुभूति भएको र आफू निकै खुशी भएको बताइन् । नेपाली सेनाको हेलिकोप्टरबाट जनकपुरधाम आएकी प्रधानमन्त्री कार्कीले जनकपुर विमानस्थलमा सुरक्षा अधिकारीहरूसँग छोटो अन्तक्र्रियापश्चात् जानकी मन्दिर पुगेकी थिइन् ।

जनकपुर विमानस्थलमा प्रधानमन्त्री कार्कीलाई मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोसहित धनुषाका सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया