Listen LIVE

घुम्ती व्यापारमा व्यस्त दृष्टीविहीन व्यक्ति

जाजरकोट : भेरी नगरपालिका–११ धुल्यौटाकी २२ वर्षिया सिता विक पूर्ण दृष्टीविहिन अपाङ्गता छिन् । आफु पूर्ण दृष्टीविहिन भएता पनि सिता चाउचाउ, विष्कुट, चक्लेट, कापी, कलम, मोवाइलको रिचार्ज कार्ड, अगरबत्ति, साबुन, सेम्पो लगायतका सामानहरु लिएर सबैको घरदैलोमा धाउने गरेकी छन् । झोलामा सामान बोकेर सेतो छडिको सहायताले सिता अरुको घरदैलोमा पुग्ने र दिनभरको घुम्ती व्यापारबाट आएको नाफाबाट सिताले आफ्नो जीवन निर्वाह गर्दै आएकी छन् ।

सिता जस्तै भेरी नगरपालिका–११ का निम बहादुर विक, खिमा महतारा, सितला वर, तुल्सी खत्री पनि पूर्ण दृष्टीविहीन छन् । उनीहरुले पनि सिता जस्तै सेतो छडिको सहायतामा झोलामा सामान बोकेर घुम्ती व्यापार गर्न दिनभर गाउँ चहार्ने गर्दै आएका छन् ।

उनीहरु जस्तै भेरी नगरपालिका–६ की निर्मला हमाल, पिउकली विक, धनसरी विक, पवित्रा पुन, कृष्ण विक पनि घुम्ती व्यापार गर्ने दृष्टीविहीन अपाङ्गता हुन् । दिभर गरेको व्यापारबाट भएको नाफाले जीवन धान्नुको साथै आफ्ना परिवारका सदस्यहरुलाई सहयोग गर्दै आएका छन् ।

दृष्टीविहीन उनीहरुले समावेसीकरण र सशक्तिकरण परियोजनाले आर्थिक सहयोग गरेपछि घुम्ती व्यापारमा गर्न थालेका हुन् । भेरी नगरपालिकाका १५ जना दृष्टीसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई परियोजनाले दुई लाख सहयोग गरेपछि उनीहरु घुम्ती व्यापारमा लागेको परियोजनाको सामाजिक परिचालक झरना रानाले जानकारी दिइन् ।

परियोजना सल्लाहकार खेमराज शर्माले सन् २०२२ देखि सञ्चालित समावेसीकरण र सशक्तिकरण परियोजनाले भेरी नगरपालिकाका ४५ जना दृष्टी सम्बन्धीका अपाङ्गता भएका व्यक्तिहरुलाई सेतो छडि वितरण गर्नुका साथै हिँडाइ तथा डुलाइ सम्बन्धीको तालिम दिएकोे जानकारी दिए । परियोजनाले हालसम्म भेरी नगरपालिकामा २४ लाख बजेट खर्च गरिसकेको शर्माले जानकारी दिए ।

अपाङ्ग स्वावलम्वन संस्था जाजरकोटका सचिव हस्तबहादुर विकले अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनमा परियोजनाले ठुलो भूमिका खेलेको बताए ।

प्रतिक्रिया