कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. ४ स्थित गुजर टोलमा १ सय ८० मिटर सडक कालोपत्रे गरिएको छ । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमबाट २३ लाख ९६ हजार २१८ रुपैयाँको लागतमा सडक कालोपत्रेको काम पुरा भएको हो ।
राप्तीसोनारी गाउँपालिका ९ स्थित अनमोल निर्माण सेवाले बैशाख २८ गते सम्झौता गरेर जेष्ठ ३० गतेभित्र काम सम्पन्न गर्ने गरी ठेक्का स्विकारेको थियो ।
कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको सहलगानीमा सन्चालित गुजर टोलको बाटो कालोपत्रे गर्ने कार्य सम्पन्न भए पश्चात गुजर टोलवासीमा खुशी छाएको वडा अध्यक्ष मुवारक अलि गुजरले बताए ।
नगर क्षेत्रमा विकास निर्माण कार्य भएता पनि बजार क्षेत्रबाट नजिकै अवस्थित रैथाने मुस्लिम समुदायहरुको बाक्लो वस्ती रहेको गुजर टोलमा सडकको भरपर्दो विकास भएको थिएन । यो टोलको बाटो कच्ची भएकोले बर्खायाममा स्थानीयहरुले सास्ती खेप्दै आएका थिए । बालबालिकाहरुलाई पनि विद्यालय आवत–आवत गर्न असहज अवस्था थियो ।
सडक कालोपत्रे भएपछि गुजर टोलको करीब दुई सय र बेलनपुर वस्तीको करीब १४ सय मुस्लिम समुदायका वासिन्दाहरुमा यातायातको सहजता भएको वडाध्यक्ष गुजरले बताए । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको सहलगानीमा नगरपालिका क्षेत्रमा अहिले १८ वटा सडक स्तरोन्नति तथा तटबन्ध सम्बन्धि आयोजना निर्माणको काम भइरहेको छ ।
यस्ता योजनाहरूले समावेशी विकास, दिगो पूर्वाधार र जनताको प्रत्यक्ष जीवनस्तरमा सुधार गर्ने दिशामा नगरपालिकालाई नयाँ उचाईमा पुर्याउने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार