Listen LIVE

जडीबुटी प्रशोधन केन्द्र अन्योलमा

सुर्खेत : सरकारको जडीबुटी प्रशोधन केन्द्र निर्माण योजना अन्योलमा परेको छ । सङ्घीय सरकारले कर्णाली प्रदेशलाई जडीबुटीको हब बनाउने भन्दै बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि सारिएको हो । 

कर्णाली प्रदेशलाई जडीबुटीको हबका रूपमा विकास गरी प्रदेशमा प्रचुर मात्रामा पाइने विभिन्न प्रकारका जडीबुटीको पहिचान, सङ्कलन, भण्डारण, प्रशोधन र बजारीकरण गरी आर्थिक आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य सरकारले राखेको छ । सङ्घीय सरकारको ससर्त अनुदानमा जुम्लामा जडीबुटी प्रशोधन केन्द्र निर्माणको योजना अघि सारिएको प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । 

जुम्लाको पातारासी गाउँपालिका–२, गौतमबाडालाई प्रशोधन केन्द्र स्थापनाका लागि प्रस्ताव गरिएको मन्त्रालयका सूचना अधिकारी नीरज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारको ससर्त अनुदानको तीन करोड बजेटमा प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।

हालै गरिएको स्थलगत अनुगमनमा भने उक्त स्थान उपयुक्त नरहेको पाइएको छ । उक्त स्थानमा गरिएको छलफल र प्रस्तावित ठाउँको अवलोकन गर्दा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनका लागि पर्याप्त आधार नभएको पाइएको डिभिजन वन कार्यालय जुम्लाले जनाएको छ । 

सरकारले प्रस्ताव गरेको स्थानमा स्थानीय नागरिकले समेत असहमति जनाएको कार्यालयका डिभिजनल वन अधिकृत भरतबहादुर बुडथापाले बताउनुभयो । उहाँका अनुसार प्रस्तावित स्थानमा प्रशोधन केन्द्र निर्माणका लागि उपयुक्त नरहेको छलफलका क्रममा पाइएको छ ।

प्रतिक्रिया