नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ टांगा स्टेशन नजिक गत असार २८ गते राति भएको एक युवकको हत्या घटनामा प्रहरीले फरार एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त घटनाका जाजरकोट कुसे गाउँपालिका ८ का २३ वर्षीय फरार आरोपी जगत सिंह ठकुरीलाई नेपालगञ्जमा आएको अवस्थामा गएराति पक्राउ गरेको जानकारी दिएको छ ।
बाँके प्रहरीको टोलीले ठकुरीलाई गएराति १० बजे नेपालगञ्ज–४ बसपार्कस्थित अछामी गेस्ट हाउसबाट पक्राउ गरेको जिल्ला प्रहरी बाँकेका प्रवक्ता डीएसपी आयुश प्रसाद जोशीले बताए ।
डीएसपी जोशीका अनुसार पक्राउ परेका ठकुरीसँग घटनाका बारेमा थप अनुसन्धान सुरु भइरहेको छ । उक्त घटनामा अरु पनि रहेको बताइएको छ ।
गत असार २८ गते राति करिब पौने ११ बजे नेपालगञ्जको टांंगा स्टेशन नजिक दुई समूहबीच भइरहेको ग्याङफाइट भइरहेको थियो । उक्त झगडा छुट्टाउन गएका ३८ वर्षीय इरसाद राई कबडियालाई ठकुरीको समूहले खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते भएका इरसादको उपचारका क्रममा असार २९ गते बिहान अस्पतालमा मृत्यु भएको थियो ।
प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा ठकुरीको टोलीले इरसादको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार