नेपालगञ्ज : वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सीप अनिवार्य गरिएसँगै दक्ष भएर विदेशिनेको संख्या बढ्दै गएको छ।
लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरका निर्देशक भोदुराम थारुले सकेसम्म वैदेशिक रोजगारमा जानु नपर्ने गरी सीप सिकेर स्वदेशमै स्वरोजगार बन्न आग्रह गरेका छन्। जानै पर्ने अवस्थामा पनि सीपसहित मात्र विदेश जानु उपयुक्त हुने उनको भनाइ छ।
लियानाले नेपालगञ्जमा कार्यालय स्थापना गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गर्दै विभिन्न उद्यमशिलता विषयमा तालिम दिने तयारी गरेको जनाएको छ। साउन १ गतेबाट सुरु हुने तालिममा सहभागी हुनेलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा जान चाहनेलाई सुरक्षित गन्तव्यमा पठाइने पनि लियानाले जनाएको छ।
थारुले सीपसहित विदेश जानाले तलब बढी हुने, लागत कम लाग्ने र सुरक्षित वातावरणमा काम गर्ने अवसर पाइने बताए। साथै, विदेशबाट फर्किएपछि सोही सीपको उपयोग स्वदेशमा पनि गर्न सकिने उल्लेख गरे।
लियाना म्यानेजमेन्ट सर्भिस प्रा.लि.का अध्यक्ष दीपा खत्रीले पेसागत सीपले विदेश मात्र होइन, स्वदेशमै पनि रोजगारी सिर्जना गर्ने भएकाले सीप सिक्नुपर्नेमा जोड दिए।
उनका अनुसार काठमाडौंमा एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर र पश्चिम नेपालमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा छन्। सरकारको रोजगारमूलक सीप विकास तालिम कार्यविधि, २०७५ अनुसार अब वैदेशिक रोजगारमा जान सीपयुक्त प्रमाणपत्र अनिवार्य हुने नीति लागू भइसकेको जानकारी पनि दिइएको छ।
वैदेशिक रोजगार विभागका अनुसार २०८०–८१ को असार मसान्तसम्म ७ लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका छन्। बाँकेबाट मात्रै ६ हजार ६६० जना श्रम स्वीकृति लिएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार