बर्दिया : बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत पर्ने प्रसिद्ध पर्यटकीय स्थल कृष्णसार संरक्षण क्षेत्रमा प्रवेश गर्ने मुख्य सडक चार वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन । निर्माण नहुँदा स्थानीय बासिन्दा र संरक्षण क्षेत्रमा पुग्ने पर्यटकले बर्सौंदेखि सास्ती भोगिरहेका छन् ।
विसं २०७८ पुस २८ गते सहरी सघन कार्यालय बाँकेले एमएस भट्टराई कन्स्ट्रक्सन नेपालगञ्जसँग पाँच सय मिटर सडक निर्माणका लागि सम्झौता गरेको थियो तर सम्झौतापछि चार वर्ष बित्दा पनि कामको प्रगति शून्य बराबर छ । स्थानीय विष्णु थापाले भन्नुभयो, “ठेकेदारले सडकमा कुनै काम गरेको छैन । यसले गर्दा बर्खा लाग्दा हिलो, हिउँदमा धुलो र राति हिँड्नसमेत समस्या हुने अवस्था छ । दुर्घटनाको जोखिम पनि त्यतिकै बढेको छ ।”
निर्माण कम्पनीले पुरानो कालोपत्रे सडकमा केवल ग्राभेल गरेर निर्माण सुरु गरेपछि विवाद उत्पन्न भएको छ । स्थानीय र जनप्रतिनिधिको दबाबपछि कार्य रोकिएको हो । गुलरिया नगरपालिका–२ का वडाध्यक्ष टङ्कप्रसाद अधिकारीले भने, “सम्झौता अनुसार पुरानो कालोपत्रे फालेर नयाँ सडक बनाउनुपर्ने थियो तर ठेकेदारले त्यो नगरी सिधै ग्राभेल हाल्ने प्रयास ग¥यो अनि विवाद हुँदा अहिले ठेकेदार सम्पर्कमै छैनन् ।”
सडकमा जथाभाबी रूपमा गिट्टी राखिएकाले आवतजावत गर्न गाह्रो भएको थियो । स्थानीयले चौतर्फी विरोध गरेपछि नगरपालिकाले जेसिबी प्रयोग गरी गिट्टी पन्छाएर अस्थायी रूपमा सडक खुलाएको छ । दीर्घकालीन समाधान भने अझै अनिश्चित छ । स्थानीय शिक्षक सुनील यादवले भने, “यो सडक विद्यार्थी र पर्यटक दुवैका लागि महत्वपूर्ण मार्ग हो । यसलाई छिटोछरितो बनाउनेतर्फ कसैको ध्यान जान सकेको छैन । तत्काल काम सुरु नगरे ठुलो समस्या निम्तिन सक्छ ।”
सहरी सघन कार्यालय बाँकेका प्रमुख राजु न्यौपानेले निर्माण व्यवसायीलाई पटक पटक पत्राचार गरिएको जानकारी दिँदै भने, “अब पनि काम सुरु नगरे ठेक्का रद्द गरी कानुनी कारबाही अगाडि बढाइने छ ।”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार