बर्दिया : सडक पूर्वाधार विकास कार्यालय बर्दियाले एक वर्षको अवधिमा ४५ किलोमिटर सडक, १२ वटा पुल र एक सय १३ वटा कल्भर्ट निर्माण गरेको छ ।
कार्यालयले आर्थिकवर्ष २०८१/०८२ मा करिब १२ किलोमिटर सडक कालोपत्रे गरेको छ । कालोपत्रे गर्नका लागि करिब तीन किलोमिटर सडक तयारी अवस्थामा रहेको छ भने ३१ किलोमिटर सडकमा सब बेस हालेर ग्राभेल गरिएको छ ।
ग्राभेल सडकलाई आगामी आर्थिक वर्षमा क्रमशः कालोपत्रे गर्दै जाने योजना रहेको कार्यालयले जनाएको छ । पहिले नै कालोपत्रे गरिएको सडकमध्ये डेढ किलोमिटर कालोपत्रे सडकलाई मर्मतसम्भार गरिएको छ ।
सडक पूर्वाधार विकास कार्यालय बर्दियाका अनुसार गत आर्थिक वर्षमा करिब ७ किलोमिटर पक्की नाली निर्माण गरिएको छ भने जिल्ला भरी एक सय १३ वटा कल्भर्ट निर्माण गरी आवतजावत सहज बनाइएको छ ।
सडक पूर्वाधार विकास कार्यालयका प्रमुख गोविन्दबहादुर महताराका अनुसार बर्दिया जिल्लामा गत आर्थिक वर्षमा पाँच वटा सडक पुल र ७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । पुल निर्माण भएपछि स्थानीयवासीलाई आवत जावत गर्न सहज भएको छ ।
गत आर्थिक वर्षमा सञ्चालन भएका एक सय ९६ आयोजनामध्ये एक सय ३७ वटा आयोजना सम्पन्न भएका छन् । ४० वटा आयोजना निर्माणाधीन छन् । पाँच वटा आयोजना ठेक्का प्रक्रियामा छन् भने १४ वटा आयोजना विविध कारणले काम हुन सकेका छैन । कार्यालयका अनुसार ९१ करोड ४२ लाख बराबर पुँजीगत बजेट कार्यालयमा आएको र ६४ करोड ५३ लाख खर्च भएको छ । कार्यालयले ७०.६६ प्रतिशत पुँजीगत खर्च गरेको छ ।
सबैको सहयोगले बर्दियामा हालसम्म रुग्ण ठेक्का नरहेको कार्यालय प्रमुख महताराले बताए । उनले भने, “साईड क्लियर नभएर वा अन्य कारणले केही समय काम रोकिने गरेको भए पनि हालसम्म रुग्ण योजना छैन ।”
कार्यालयले गेरुवा गाउँपालिका, राजापुर नगरपालिकालगायतका ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दै आएको छ । आफ्नो गाउँमा सडक कालोपत्रे हुने कुरा सोच्दै नसोचे पनि कालोपत्रे भएको गेरुवा गाउँपालिका– २ टिकुलीगढका बाबुराम थारुले बताए । उनले हिलाम्मे सडक कालोपत्रे भएपछि आवतजावत गर्न सहज भएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार