खजुरा (बाँके) : बाँकेको खजुरा बजार क्षेत्रको १ हजार ८ सय मिटर सडक ठेकेदारबाट अलपत्र पारिएको र सोही सडकमा रहेको जिर्ण पुल निर्माणमा ढिलाई भएको भन्दै राजनीतिक दलहरुले आन्दोलनको चेतावनी दिएका छन् । खजुरा गाउँ पालिकाको स्थानीय गठबन्धन दलका नेताहरुले आज गाउँ पालिकालाई ज्ञापन पत्र बुझाउँदै १ महिना भित्र पुलको टेण्डर र सडक निर्माणको काम प्रक्रियामा नगए आन्दालन गर्ने चेतावनी दिएका हुन् ।
स्थानीय गठबन्धन (कांग्रेस–माओवादी केन्द्र)का नेताहरु गाउँ पालिका पुगेर पालिका अध्यक्ष डम्बर बिक र उपाध्यक्ष मन्जु मल्ललाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले पालिका मार्फत बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर, आशा विक, प्रदेशसभा सदस्य बादशाह कुर्मी र रत्न खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन तथा हुलाकी सडक निर्देशनालयलाई समेत सडक र पुल निर्माणका काम सुचारु नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी पठाएका छन् ।
दलहरुले बुझाएको ज्ञापनपत्रमा २०७४ सालमा ठेक्का सम्झौता भएर पटक पटक म्याद थप हुँदा पनि खजुरा क्षेत्रको १ हजार ८ सय मिटर सडक सम्पन्न नभएको, गरिएको काम पनि अत्यन्त गुणस्तरहिन भएको तथा सोही सडकमा रहेको पेडारी नालाको पुल जिर्ण भएर कुनैपनि बेला खस्न सक्ने अवस्थामा पुग्दा समेत निर्माणका लागि तदारुकता नदेखाईएको उल्लेख गरिएको छ । पुलको वारीपारीका ३ सय मिटर क्षेत्रमा वर्षामा पानी भरिएर आवत जावत बन्द हुने र सडक जिर्ण भएर सवारी संचालनका कठीनाई हुने गरेको स्नानीय चुनावी गठबन्धन दलको ज्ञापनपत्रमा लेखिएको छ ।
गठबन्धन दलका तर्फबाट कांग्रेसका रमेश सिंजाली, राजेन्द्र आचार्य तथा माओवादी केन्द्रबाट राजकुमार विकले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै पालिकाका अध्यक्ष विकले असोज २५ भित्रमा पुलको टेण्डर प्रक्रिया सुरु नभएर आफु सहित पालिकाका सम्पूर्ण जनप्रतिनिधि सडकमा सुतेर आन्दोलित हुने जानकारी दिए । उनले आन्दोलनका सम्बन्धमा हुलाकी सडक निर्देशनालय र स्थानीय प्रशासनलाई जानकारी गराईसकिएको जनाउँदै जनताको एकता र राजनीतिक दलको साथ लिएर सशक्त आन्दोलन गरिने बताए ।
संबिधान दिवसका दिनबाट जनपरिचालन गर्दै जिर्ण पुल आसपासको सडक मरमत तथा १ हजार ८ सय मिटर सडक सरसफाई गरेर सांकेतिक आन्दोलनको सुरुवात गरिने जनाउँदै उनले सुनुवाई नभए जनताको साथ लिएर जनप्रतिनिधिहरुले नै आन्दोलनको नेतृत्व गर्ने घोषणा गरे ।
खजुरा बजार क्षेत्रको सढक गुणस्तरहिन बनाउने ठेकेदारमाथि कारवाही गरिँदा ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवा उल्टो सडक डिभिजन विरुद्ध मुद्दामा गएपछि सो सडक अलपत्र परेको हो । सडकको मुद्दा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा बिचाराधिन रहेको छ ।
पटक पटक म्याद थप गर्दापनि सडक निर्माणको काम सम्पन्न नगरेको तथा सम्झौता विपरित अत्यन्त गुणस्तरहिन काम गरेको भन्दै सडक डिभिजन मार्फत सडक बिभागले ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवालाई ठेक्का सम्झौता खारेज गर्दै कालो सूचीका लागि सिफारिस गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार