नेपालगञ्ज : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राजापुर नगरपालिकामा सञ्चालन गरेको परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।
क्लबले बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको ‘ग्रिन इकोनोमि’ र ‘सुरक्षा’ परियोजनाअन्तर्गत विभिन्न कार्यक्रमको क्लबका पदाधिकारी, कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिहरुद्धारा संयुक्त अनुगमन भ्रमण गरिएको हो ।
सो अनुगमन भ्रमणको मुख्य उद्देश्य परियोजनाका कार्यक्रमहरूको गुणस्तर र प्रभावकारिता मूल्यांकन गर्ने, लाभग्राहीहरूको सन्तुष्टि बुझ्ने, मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रमहरूको प्रभाव परीक्षण गर्ने र अझ प्रभावकारी बनाउन आवश्यक आवश्यकताहरु पहिचान गर्ने रहेको क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताए ।
उहाँका अनुसार अनुगमन भ्रमणका क्रममा बेतबास तथा विषादीरहित तरकारी खेतीमा संलग्न सहभागीहरूसँग अन्तरक्रिया, कक्षाकोठा मर्मत तथा नयाँ शौचालय निर्माणको अवलोकन, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघसँग छलफलका साथै अभिभावक समूहसँग मानव बेचबिखन नियन्त्रणसम्बन्धी अन्तरक्रिया गरिएको थियो ।
राजापुर नगरपालिका–७ भालुफाटामा भएको भ्रमणमा अभिभावकहरूले परियोजनाले मानव बेचबिखनसम्बन्धी सचेतना प्रभावकारी रूपमा बढाएको जनाउनुका साथै बालविवाह र लागुऔषध दुरुपयोग रोकथाममा नगरपालिकाको पहल अपरिहार्य भएकोमा जोड दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूले मानव बेचबिखन नियन्त्रणका लागि नगरपालिका प्रतिबद्ध रहेको दोहोर्याउँदै बालबालिका, युवा र महिलाको सुरक्षा, शिक्षा तथा समग्र विकासलाई बिशेष प्राथमिकतामा राखिएको बताए ।
नगरपालिकाले विद्यालयहरूमा प्रेरणादायी सत्रहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले दुवै परियोजना प्रभावकारी र नगरपालिकाको लक्ष्यसँग मेल खाने भएकाले थप सशक्त नतिजाकालागि संयुक्त प्रयास आवश्यक रहेको बताए ।
सो अनुगमन भ्रमणमा नगर प्रमुख थारू, उपप्रमुख मनकला कुमारी चौधरी, कृषि शाखा प्रमुख तुलाराम थारू वडा नं. ६, ७, ८ र १० का वडा अध्यक्षहरू, उद्यम विकास इकाइ संयोजक पूर्णबहादुर ओली, रोजगारी शाखा प्रमुख रमेश पोखरेल तथा राजापुर नगरपालिकाका स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो ।
बाँके युनेस्को क्लबकोतर्फबाट कार्यकारी निर्देशक तुलाधर, उपनिर्देशक गोविन्द प्रसाद लामिछाने, कार्यक्रम संयोजक ईश्वर बीके, कार्यक्रम अधिकृत राधे कृष्ण थारू तथा फिल्ड सुपरभाइजर संजिता रिजाल र प्रमिशा थारूको पनि सहभागिता रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार