Listen LIVE

राउटे समुदायद्वारा वृक्षरोपण

सुर्खेत : काठका भाँडा बनाउनका लागि जङ्गलका रुख काटेर मास्ने गरेको आरोप भोग्दै आएका लोपोन्मुख राउटे समुदाय आफ्नो आउने पुस्ताका लागि वृक्षरोपण गरेका छन् । आउने पुस्ताका लागि सहज होस् भन्ने उद्देश्य राखेर उनीहरूले आफू बसेको क्षेत्रको खाली जङ्गलमा बिरुवा रोपेका हुन् । 

सुर्खेतको लेकबेँसी नगरपालिका ८ र ९ को खाँडदेवी सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा डिभिजन वन कार्यालय सुर्खेतको समन्वयमा सोही स्थानको ओखलढुङ्गा चौरको खाली क्षेत्रमा राउटे समुदायले वृक्षरोपण गरेका छन् । 

वन संरक्षणतर्फ राउटे समुदायको भविष्य सुनिश्चितका लागि राउटेलाई वृक्षरोपणमा सहभागी गराइएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले जङ्गल मासे भनेर आरोप खेप्ने राउटे समुदायको सहभागितामा वृक्षरोपण गरिएको बताए । उनले सगरमाथा वृक्षरोपण महाअभियान अन्तर्गत खाँडदेवी सामुदायिक वन क्षेत्रको खाली जग्गामा अस्थायी रूपमा बस्दै आएका राउटेलाई वृक्षरोपणमा संलग्न गराइएको उल्लेख गरे । 

राउटे समुदाय वृक्षरोपणमा अग्रसर हुनु वन संरक्षणप्रति उहाँहरू पनि संवेदनशील रहेको पाइएको डिभिजनल वन अधिकृत श्रेष्ठले बताए । उनले राउटे समुदायलाई वन संरक्षणमा पनि सहयोग गर्न सुझाव दिए । 

खयर, सिसौ, हर्रो, बर्रो, मसला, अमला प्रजातिका करिब तीन सय बिरुवा रोपिएका छन् । राउटे समुदायसँगै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठ, वन निर्देशक गणेश त्रिपाठी, वन महाशाखा प्रमुख दिपेश केसी, लेकबेँसी नगरपालिकाका नगरप्रमुख उमेश पौडेल, उपप्रमुख विमला खड्लुकलगायत डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूले साथ दिएका थिए ।

प्रतिक्रिया