Listen LIVE

दुनाटपरीले फेरिएको दैनिकी

अछाम : घरायसी कामकाजमै व्यस्त रहने पञ्चदेवल विनायक नगरपालिका–४, कालिकास्थानकी गोपा शाहीको दैनिकी अचेल फरक हुन थालेको छ । उनी भन्छन्, “अहिले घरनजिकैको उद्योगमा गएर दुनाटपरीबाट पैसा कमाउन थालेकी छु ।”

“अहिले दिनभर घरनजिकै रहेको दुनाटपरी उद्योगमा दुनाटपरी बनाउनमै बितिरहेको छ,” उनले भनिन, “अहिले हरेक दिन बिहान खाना खाएर दोबाटा टोलमा रहेको उद्योगमा करिब सात घण्टा काम गर्छ‘ ।” गोपा मात्र हैन, कालिकास्थानका अन्य १२ जना महिला पनि अचेल दुनाटपरी बनाउन व्यस्त छन् । अछाममा स्रोह्रश्राद्धमा सालका दुनाटपरी बढी खपत हुने भएकाले यहाँका महिलाको व्यस्तता अहिले बढेको छ । 

गाउँमै दुनाटपरी पाइने भएपछि स्थानीयलाई सालका पात खोज्न जङ्गल जानुपर्ने झन्झट पनि अन्त्य भएको छ । गाउँमै दुनाटपरी बनाउने काम पाएपछि महिलाको आयआर्जनसमेत बढेको छ । कालिकास्थानका १२ जना महिलाको संयुक्त साझेदारीका दुनाटपरी उद्योग खोलिएको छ । पञ्चदेवल दुनाटपरी उद्योग भनेर महिलाले दुनाटपरी उद्योग दर्ता गरेका हुन् । 

उद्योग सञ्चालक समितिको अध्यक्ष गोपा नै हुनुहुन्छ । १२ जना महिलामध्ये कसैले जङ्गलबाट सालको पात ल्याउने काम गर्छन् भने कसैले उद्योगमै बसेर पात बुन्ने काम गर्छन् । उद्योग सञ्चालक गोपालगायतका केही भने दुनाटपरी बनाउने मेसिन चलाउनुहुन्छ । उद्योगमा आबद्ध महिलाले दुनाटपरी बनाउने तालिम लिएका छन् । उनीहरूका लागि पञ्चदेवल विनायक नगरपालिका अछामले मेसिन खरिदमा अनुदान दिएको छ । 

स्थानीय गैरसरकारी संस्था वाक नेपालको पावर परियोजनाले उनीहरूलाई तालिम दिएको हो । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय अछामले पनि उनीहरूलाई सहयोग गरेको छ । महिलाद्वारा बनाइएका दुनाटपरी अहिले पञ्चदेवल विनायक नगरपालिकामा बिक्री हुने गरेको छ । उनीहरूले बनाएका दुनाटपरी स्थानीय बजारबाट बिक्रीवितरण भइरहेका छन्  । कतिपय ग्राहकले उद्योगमै पुगेर किन्ने गरेका छन् । 

सालको पात टिप्न जाने बनाउने, झन्झटले आफूहरूले उद्योगमै बनेका दुनाटपरी किन्ने गरेको वडा नम्बर ७ का रमेश रावलले बताए । उनका अनुसार उद्योगबाट दुनाटपरी किन्दा समय बचत भई आर्थिक भारसमेत कम भएको छ । 

उद्योग सञ्चालक शाहीका अनुसार एउटा टपरीको पाँच रुपैयाँ र एउटा दुनाको दुई रुपियाँ ५० पैसा मूल्य तोकिएको छ । असारबाट सञ्चालनमा आएको उद्योगबाट अहिलेसम्म एक हजारभन्दा बढी दुनाटपरी उत्पादन भएका छन् । 

आगामी दिनमा अधिकतम उत्पादन गर्ने योजना बनाएका सञ्चालकहरू उत्पादन भएको सामग्री सुर्खेत, नेपालगञ्जलगायतका सहरमा निर्यात गर्ने बताउँछन् ।

प्रतिक्रिया