Listen LIVE

बाँकेमा घरपालुवा जनावरमाथि आक्रमण गर्ने बाघको उद्धार

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाँकेको एउटा सामुदायिक वनबाट पाटेबाघको उद्धार गरेको छ । वनजङ्गल क्षेत्रमा लुकेर बस्ने तथा साँझपख मानव वस्तीमा छिरेर स्थानीयले पालेका घरपालुवा जनावरमाथि आक्रमण गरी क्षति गर्न थालेपछि जिल्लाको राप्तीसोनारी गाउँपालिका –८ बालापुरस्थित एक सामुदायिक वनबाट निकुञ्जको टोलीले गएराति बाघलाई नियन्त्रणमा लिएर उद्धार गरेको हो ।

‘स्थानीयको आग्रहपछि गएराति अन्दाजी साढे ८ बजेको समयमा राप्तीसोनारी गाउँपालिका ८ बालापुरस्थित सामुदायिक वनबाट हाम्रो प्राविधिक टोलीले अन्दाजी तीन वर्ष उमेर पुगेको पोथीबाघ (बघेनी) लाई नियन्त्रणमा लिएर उद्धार गरेका छौँ ।’ बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीले भने ।

उनका अनुसार उक्त बाघले मानवीय क्षति नगरे पनि स्थानीयका गोठमा पसेर बाख्रा, पाडापाडी, बाच्छाबाच्छीमाथि आक्रमण गरेर क्षति गर्दैआएको थियो । स्थानीयले गएराति उक्त बाघलाई बालापुर नजिकको खोल्सामा देखेपछि बाघ समाति दिनका लागि निकुञ्जलाई खबर गरेका थिए । हात्तीसहितको निकुञ्जको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएको बाघलाई उद्धार गरेर निकुञ्जको खैरीखोलास्थित खैरीपोष्टको खोरमा राखिएको सूचना अधिकारी पंगेनीले जानकारी दिए । ‘हात्तीसहितको प्राविधिक टोली परिचालन गरेर बाघलाई उद्धार गरेका छौँ, उद्धार गरेको बाघलाई खैरीपोष्टमा रहेको खोरमा राखेका छौँ’ पंगेनीले भने, ‘केही दिन अव्जर्भेसनमा राख्छौँ, तत्काल छाड्दैनौँ ।’ बाँके राष्ट्रिय निकुञ्जनजिक रहेका विभिन्न सामुदायिक वन क्षेत्रका मानववस्तीमा पाटेबाघले घरपालुवा जनावरलाई क्षति गर्दैआएको थियो ।

प्रतिक्रिया