Listen LIVE

बाजुरामा चट्याङ लागेर ३३ भेडा बाख्रा मरे

बाजुरा : बाजुराको गौमुल गाउँपालिका वडा नम्बर–३ बेहरी स्थित सिममाटामा चट्याङ लागेर ३३ भेडा बाख्रा मरेका छन् । शुक्रवार बेलुका साढे ५ बजेतिर परेको चट्याङले  ३३ भेडा बाख्रा मरेको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले बताइन् ।

वर्षा सँगै परेको चट्याङले गौमुल गाउँपालिका वडा नम्बर ३ जडेचौकाका स्थानीय चक्र बहादुर धामीका २० वटा भेडाबाख्रा, बेहरीका गोरख बहादुर रोकायाका १३ वटा भेडाबाख्रा मरेको वडा नम्बर ३का वडा सदस्य भान बहादुर धामीले जानकारी दिए । 

चट्याङ लागेर तीन जना गोठाला समेत घाइते भएका छन् । घाइते हुनेमा गौमुल गाउँपालिका –३ का १२ वर्षीया मनिष रोकाया, १६ वर्षीया रेशम धामी र ११ वर्षीया विक्रम धामी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गौमुलका पाटन र खर्कमा व्यवस्थित भेडी गोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडा बाख्रामा ठूलो क्षति हुने गरेको छ ।

भेडाबाख्रा चट्याङबाट मरेपछि स्थानीय बाख्रा पालक किसानले रोजीरोटी खोसिएको दुखेसो पोखेका छन् । स्थानीय सरकारले राहतका लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडा पालक किसान गोरख बहादुर रोकायाले बताए । 

चट्याङबाट भएको थप क्षतिको अवस्था बारे विवरण सङ्कलन गर्न प्रहरीको टोली त्यसतर्फ गएको प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरिले जानकारी दिए ।

प्रतिक्रिया