Listen LIVE

कर्णालीमा पच्चिस हजार क्विन्टल खाद्यान्न मौज्दात

नेपालगञ्ज : यस वर्ष कर्णालीमा २५ हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको छ । सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयले २५ हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेकाले यस वर्ष प्रदेशमा खाद्यान्न अभाव नहुने जनाएको छ । 

सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुर्खेतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कम्पनीको प्रादेशिक कार्यालयका प्रमुख माधवप्रसाद मिश्रले हाल कम्पनीका शाखा, डिपो र बिक्री केन्द्रमा गरी २५ हजार २७५ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी दिए ।

त्यसमध्ये प्रादेशिक कार्यालय सुर्खेतमा आठ हजार ६७७ क्विन्टल, शाखा कालीकोटमा ८४४ क्विन्टल, कालीकोटकै पादमघाट डिपोमा १६३ क्विन्टल, थिर्पु डिपोमा ५६ क्विन्टल, खल्लागाड डिपोमा २२१ क्विन्टल खाद्यान्न मौज्दात छ । शाखा कार्यालय मुगुमा एक हजार ७५६ क्विन्टल, श्रीकोट डिपोमा ३६ क्विन्टल, सोरुकोट डिपोमा छ क्विन्टल, शाखा कार्यालय हुम्लामा ८६० क्विन्टल, सर्केगाड डिपोमा ३८ क्विन्टल, श्रीनगर डिपोमा २३६ क्विन्टल खाद्यान्न मौज्दात छ । 

त्यस्तै जाजरकोट शाखामा ७२३ क्विन्टल, घोगी डिपोमा २०३ क्विन्टल, चौखा डिपोमा ११९ क्विन्टल, नायकबाडा डिपोमा ४१ क्विन्टल, डोल्पा शाखामा ७७० क्विन्टल, जुफाल गौदाममा एक हजार १४४ क्विन्टल खाद्यन्न मौज्दात रहेको कार्यालयले जनाएको छ ।  शाखा कार्यालय जुम्लामा ३९५ क्विन्टल, रुकुमपश्चिम शाखामा ५६० क्विन्टल र दैलेख शाखामा एक हजार ११५ क्विन्टल खाद्यान्न मौज्दात छ । कम्पनीले चाडपर्वमा उपभोक्तालाई सहुलियतका लागि २१ हजार क्विन्टल चामल, छ हजार लिटर खानेतेल बिक्रीका लागि छुट्याएको छ । सबै शाखा कार्यालयबाट सहुलियत मूल्यमा खाद्यान्न र खानेतेल बिक्रीवितरण भइरहेको कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै चाडपर्वमा हुन सक्ने उपभोग्य वस्तुको अभाव, कालोबजारी र अखाद्य वस्तुको आपूर्ति रोक्न सङ्घीय संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चासो देखाएको छ । चाडपर्वको मुखमा तेल, चिनी, मसलाजन्य खाद्यवस्तुको अभाव हुन नदिन समितिले देशका विभिन्न स्थानमा पुगेर खाद्यान्न वस्तुको भण्डारण र बजार अनुगमनको अवस्था बुझ्न थालेको छ ।

प्रतिक्रिया