Listen LIVE

दसैँ नजकिएसँगै भारतबाट फर्किनेको जमुनाहा नाकामा भीड

नेपालगञ्ज : हिन्दुहरुको महानपर्व दसैँ नजिकिएसँगै कामका लागि भारत गएका नेपालीहरु चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् ।

पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न ठुला ठुला सहरहरूमा गएकाहरू अहिले हुलका हुल स्वदेश फर्किरहेको नेपाल भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले चाडपर्वहरू नजिकिएसँगै भारतबाट नेपालीहरू स्वदेश फर्किने क्रम ह्वात्तै बढेको बताए ।

उनका अनुसार, गत एक सातामा मात्रै करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् । यो नाकाबाट हाल दैनिक करिब दुई हजारको हाराहारीमा नेपालीहरू चाडपर्व मनाउन स्वदेश फर्किरहेको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

केही दिनअघि भएको जेनजी आन्दोलनका क्रममा सीमा नाका बन्द रहेको थियो । नाका पुनः सुचारु हुनसाथ भारतबाट आउने नेपालीहरूको सङ्ख्या बढेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

दसैँ, तिहार मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि नेपाल प्रहरीले आवागमनलाई जमुनाहा नाकामा सहज बनाएको छ । रिक्सा, ई–रिक्सा, बस, हाइस र होटल व्यवसायीबाट स्वदेश फर्किने नेपाली बर्षेनि ठगिने र लुटिने हुँदा सो सम्भावनालाई मध्यनजर गरि नेपाल प्रहरीले कडा निगरानी गरिरहेको छ ।  

देशमा हालै भएको आन्दोलनले ठुलो उथल पुथल गरेको सुनिएको जनाउँदै भारतको शिमलाबाट १० जनासहित फर्किएका सुर्खेत रामघाटका दिलिप थापाले सोही कारणले यस पटक आफन्त भेट्न मन लागेकोले चाडपर्व मनाउन छिट्टै फर्किएको बताए ।

सोही प्रकारले कालिकोटका रमेश विकले यस पटक फर्किने योजना नरहे पनि देशको अवस्थाले गर्दा आएको जनाउँदै चाडपर्व आफ्नै गाउँ ठाउँमा मनाउँदा राम्रो लाग्ने बताए ।

अहिले चाडपर्वका लागि स्वदेश फर्किन थालेका नेपालीको फर्किने क्रम दसैँ र सो पछि पनि जारी रहने इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । सो कार्यालयका अनुसार दसैँ र तिहार जति नजिक आउँछ त्यतिनै भारतबाट फर्किनेको सङ्ख्या पनि बढ्दै जान्छ ।

प्रतिक्रिया