Listen LIVE

नरैनापुरमा वन अतिक्रमण र चोरी नियन्त्रणमा जोड

नरैनापुर (बाँके) : डिभिजन वन कार्यालय बाँकेको आयोजना तथा नरैनापुर सब–डिभिजन वन कार्यालयको समन्वयमा नरैनापुर गाउँपालिका–२ स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको हलमा एकदिने वन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले वन संरक्षणलाई स्थानीय तहको प्राथमिकतासँग जोड्दै दिगो उपयोग र सामुदायिक सहभागिता नै वन सुरक्षाको आधार भएको बताए ।

मुख्य सत्रमा सिनियर डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्ताले वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण गर्दै यसले वनको अवस्था मजबुत हुने, उत्पादन आपूर्ति निरन्तर रहने, स्थानीय रोजगारी बढ्ने तथा उपभोक्ता समूहको आम्दानी वृद्धि हुने बताए ।

हाल स्वीकृत नरैनापुर गाउँपालिका वन कार्य योजनाअनुसार कार्यक्रम अघि बढाइने उल्लेख गर्दै उनले वन अतिक्रमण नियन्त्रण, चोरी–निकासी रोकथाम र उपभोक्ता समूहको सक्रियता अपरिहार्य रहेकोमा जोड दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका डिएसपी विक्रम मणि अधिकारीले चोरी–निकासी, सितलाहर तथा अन्य अवैध गतिविधिबाट बच्ने उपाय, निगरानी प्रणाली र सुरक्षा सम्बन्धी व्यावहारिक जानकारी दिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि र उपभोक्ता समूहका सदस्यसहित ७२ जना सहभागी थिए । कार्यक्रमको सञ्चालन तथा समापन सब–डिभिजन वन कार्यालय नरैनापुरका प्रमुख पुष्कर विश्वकर्माले गरे ।

सहभागीहरूले दिगो वन व्यवस्थापन, सामुदायिक भूमिकाको सुदृढीकरण र वन सुरक्षाबारे कार्यक्रम उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया