नेपालगञ्ज : पश्चिम नेपालको प्रमुख नाका मानिने नेपालगञ्जको जमुनाहा नाकाबाट भारतको उत्तर प्रदेशको प्रयागराजमा सञ्चालन भइरहेको हिन्दु धर्मावलम्बीको महाकुम्भ मेलामा ठुलो सङ्ख्यामा तिर्थयात्रु जाने गरेका छन् । पुस २९ गतेबाट सुरु भएर फागुन १४ सम्म (महाशिवरात्रिका दिनसम्म) सञ्चालन हुने सो मेलामा जमुनाह नाकाबाट मात्रै दैनिक पाँच हजारसम्म हिन्दु धर्मावलम्बी स्नानका लागि जाने गरेको पाइएको छ ।
गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा स्नान गर्नाले पापको प्रायश्चित भई पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष हुने धार्मिक मान्यता रहेका कारण नेपालबाट पनि दैनिक ठुलो सङ्ख्यामा श्रद्धालु प्रयागराज जाने गरेको पाइएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । जमुनाहा नाका हुँदै दैनिक तीनदेखि पाँच हजारभन्दा बढी नेपाली हिन्दु धर्मावलम्बी महाकुम्भमा जाने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले बताए ।
उनले सोही कारणले केही दिनयता नाकामा ठुलो भीडभाड बढेकोले सुरक्षाका लागि प्रहरीले सीमा क्षेत्रमा थप व्यवस्था मिलाएको बताए । जमुनाहाबाट ३८५ किलोमिटर दुरीमा रहेको प्रयागराजमा महाकुम्भ मेलाका लागि मात्र रुपईडिहाबाट दैनिक १० भन्दा बढी यात्रुबहाक गाडी सञ्चालन रहेको र ती सबै गाडीमा जाने श्रद्धालुमा नेपाली बढी हुने गरेको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।
उनका अनुसार रुपईडिहास्थित डिपोबाट दैनिक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रयागराजका लागि गाडी सञ्चालन भइरहेका छन् । यसैगरी नेपालगञ्ज र रुपैडियाबाट रिजर्भ गाडी पनि ठुलो सङ्ख्यामा दैनिक गइरहेका छन् । १४४ वर्षपछि लाग्ने यो महाकुम्भ आफ्नो जीवनकालमा लागेकाले यस्तो महत्त्वपूर्ण अवसर सदुपयोग गर्न महाकुम्भ मेला पुगेर स्नान गरेर आएको नेपालगञ्ज ८ का अरुणा श्रेष्ठले बताइन् ।
उनले महाकुम्भमा धेरै नेपाली भेटिएको जनाउँदै देशभरबाटै नेपालीहरू त्यहाँ गएको बताइन् । सार्वजनिक गाडीमा जाँदा भाडा सस्तो हुँदा पश्चिम नेपालका हजारौं हिन्दु धर्मावलम्बी गाडीमा गइरहेको आफूले देखेको श्रेष्ठले बताइन् । महाकुम्भमा पुगेर फर्किएर आएका अधिकांश नेपालीले मेलामा भीड अत्यधिक भएको हुँदा त्यहाँ जाँदा सचेत हुन श्रद्धालुलाई अनुरोध गरेका छन् । महाकुम्भबाट फर्किएका नेपालगन्ज ११ का दिपक वैश्यले नेपालीका लागि नेपाल सरकारले पनि त्यहाँ सहजीकरण गर्ने व्यवस्था गरेको भए राम्रो हुने सुझाव दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार