Listen LIVE

होटलमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षासँग जोड्ने पहल सुरु

नेपालगञ्ज : बाँकेका होटल व्यवसायमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षासँग जोड्न होटल व्यवसायी संघ बाँकेले आवश्यक पहल सुरु गरेको छ । त्यसका लागि संघले श्रम तथा रोजगार कार्यालय नेपालगञ्जसँग परामर्श बैठक आयोजना गरेको जनाएको छ ।

संघका अध्यक्ष भीमलाल कँडेलको नेतृत्वमा पदाधिकारीसहितको टोलीले श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका प्रमुख पिन्टु कुमार रजकसँग श्रमिक ऐन र सामाजिक सुरक्षासम्बन्धी कानुनबारे अन्तरक्रियात्मक छलफल गरेको अध्यक्ष कँडेलले बताए ।

उनले भने, ‘‘त्यसबारे जिल्लाका आम होटल व्यवसायीहरूलाई जानकारी गराउन आवश्यक परेकोले छिट्टै एक अभिमूखिकरण कार्यक्रम गर्ने निर्णयमा पुगेका छौं, व्यवसायीहरूलाई यसबारे नबुझाउँदासम्म कार्यान्वयनमा आउन सम्भव छैन ।’’

सो छलफलमा सहभागी व्यवसायीहरूले ऐन, कानुनबारे अभिमूखिकरण नगरेरै व्यवसायीलाई अनावश्यक दबाब दिने गरेको भन्दै श्रम कार्यालयको व्यवहार प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

संघका निवर्तमान अध्यक्ष रंगबहादुर खड्काले भने, ‘‘कलकारखानाका कामदार र होटलका श्रमिकलाई एकै ठाउँमा राखेर बनाएको कानुनले उचित सम्बोधन गर्दैन, व्यवसायी र श्रमिक दुवैलाई यसबारे राम्रोसँग अभिमूखिकरण आवश्यक परेको छ ।’’

छलफलमा श्रम तथा रोजगार कार्यालयका प्रमुख रजकले २०७४ सालमै कानुन बनेपनि यसलाई पूर्णरुपमा लागू गर्न नसकिएकाले प्रभावकारी पहलकदमी आवश्यक भएको जनाउँदै त्यसतर्फ कार्यालयले आवश्यक पहलकदमी गर्ने बताए ।

सो अवसरमा होटल व्यवसायी संघ बाँकेका उपाध्यक्ष रेशम पोखरेल, सचिव थुम बहादुर क्षेत्री, कोषाध्यक्ष एकराज पाण्डेय, सहकोषाध्यक्ष घनश्याम शर्मा, सदस्यहरु गीता सुवेदी, कल्पना थापा, तुलबहादुर कार्की, अतुल वैश्य, सुरज भण्डारीलगायतले पनि श्रमिकहरुको हकहितका लागि आ–आफ्नो धारणा राखेका थिए ।

बाँके जिल्लामा करिब तीन हजार ठुला साना होटलहर रहेको र ती होटलमा करिब १५ हजार जति श्रमिकहरु रहेको होटल व्यवसायी संघ बाँकेले जनाएको छ ।

प्रतिक्रिया