नेपालगञ्ज : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित ‘सुरक्षा परियोजना’ सम्बन्धी जानकारी तथा समन्वय बैठक राजापुर नगरपालिकामा सम्पन्न गरेको छ ।
परियोजनाका लक्ष्य, उद्देश्य, प्रतिफल, बजेट र कार्यपद्धति सम्बन्धी जानकारी स्थानीय सरकार तथा प्रमुख सरोकारवालाहरूलाई दिनका लागि सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधरले बताए ।
राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ दुर्गा कुमारी क्षेत्रीले संस्थाको कार्यपद्धति, विषयगत क्षेत्रहरू, राजापुर नगरपालिकामा सञ्चालित समग्र कार्यक्रमहरू र लक्षित बालबालिकाहरूको अवस्था सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
साथै, उनले ‘सुरक्षा परियोजना’ का उद्देश्य, गतिविधि र प्रतिफलहरूका बारेमा समेत विस्तारमा प्रकाश पारेका थिए ।
बैठकमा बोल्दै राजापुर नगरपालिकाका उपमेयर चौधरीले बालबालिका बेचबिखनको रोकथाम तथा बालबालिकाको गुणस्तरीय र समावेशी शिक्षा प्रवद्र्धनका लागि राजापुर नगरपालिकाको सधैं पूर्ण सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
सो बैठकमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले संस्थाको बिस्तृत परिचय दिनुका साथै परियोजनाको बारेमा पनि महत्वपूर्ण जानकारी गराएका थिए ।
कार्यक्रममा राजापुर नगरपालिका वडा नम्बर ४, ६, ८ र १० का वडा अध्यक्षहरू, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरू तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू समेतको सहभागिता रहेको थियो । सो अवसरमा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर प्रमिशा थारुको पनि उपस्थिति रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार