Listen LIVE

नेपालगञ्जमा रामलीला नभए पनि रावण वध हुने

नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा यसपालि रामलीला मञ्चन नहुने भएको छ । प्रत्येक विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन गरिन्थ्यो ।

यस वर्ष असुरक्षाको कारण देखाउँदै रामलीला मञ्चन स्थगित गर्नुपरेको आयोजकले जनाएको छ । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले आपराधिक तत्वहरू बढिरहेकाले असुरक्षाका कारण रामलीला स्थगित गरिएको बताए । ‘प्रहरीको उपस्थिति देखिँदैन । रातिको समयमा जति गस्ती हुनुपर्ने हो, त्यो भएको छैन । त्यसकारण जोखिम लिएर कार्यक्रम गर्नुभन्दा बरु रावण वध मात्रै गरेर मनाऔं भन्ने निष्कर्षमा पुगेका हौं,’ अध्यक्ष कनोडियाले भने, ‘रामलीला मञ्चनको पूरा कार्यक्रम नभए पनि अन्तिम दिन गरिने रावण वधको तयारी भइरहेको छ ।’

नेपालगञ्जमा घटस्थापनादेखि सुरु भएर दशमीको दिनसम्म रामायणमा आधारित रामको चरित्र नाटक मञ्चन गर्ने गरिन्छ । उक्त मञ्चन हेर्न सहरवासीसहित भारतबाट समेत पर्यटक रामलीला मैदानमा भेला हुन्छन् । मध्यरातसम्म रामलीला मञ्चन हुन्छ ।

रातिको समयमा रामलीलाको मञ्चन हुने भएकाले सुरक्षाको व्यवस्था त्यहीअनुसारको हुनुपर्ने आयोजकको भनाइ छ ।

नेपालगञ्जको ऐतिहासिक र सांस्कृतिक क्रियाकलापको महत्वपूर्ण अंगका रूपमा स्थापित भइसकेको रातिको समयमा मञ्चन हुने रामलीला रोकिँदा नगरवासीहरू खुसी भने छैनन् । तर उनीहरू अहिलेको परिवेशमा कार्यक्रम स्थगित गर्नु नै उपयुक्त रहेको बताउँछन् । नेपालगञ्जका व्यवसायी नन्दलाल वैश्यले सुरक्षा अवस्था नभएका बेला कार्यक्रम रोक्नुनै उत्तम विकल्प रहेको बताए ।

पछिल्लोपटक कोरोना महामारीका बेला २०७७ र २०७८ सालमा दुई वर्ष रामलीला स्थगित भएको थियो । रावण वधको कार्यक्रम भने गरिएको थियो ।

प्रतिक्रिया