नेपालगञ्ज : मुस्लिम समुदायको पवित्र धार्मिक महिना रमजानको अवसर पारेर कैदी बन्दीहरुलाई रोजाका लागि विभिन्न संघसंस्थाले खाद्यान्न सहयोग गरेका छन् ।
बाँकेको नेपालगञ्ज कारगार र नौबस्ता कारागारमा रहेका मुस्लिम कैदी बन्दीहरुलाई रोजा खोल्न र सेहरी खानका लागि राजा खान विइङ ह्युम्यान संस्था तथा नेपालगञ्ज मुस्लिम समाज बाँकेले आवश्यक खाद्यान्न सामग्री सहयोग गरेको हो ।
हाल अमेरिकामा रहेका राजा खान विइङ ह्युम्यान संस्थाका संरक्षक राजा खानको सहयोगमा नेपालगञ्ज कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरूलाई रोजा इफ्तार र सेहरीका लागि केराउ, चना, तेल, चिनी, चियापत्ती, खजुर, बिस्कुट, आलु, प्याज, पानी, रुवाफ्जा, बेसन, कचरी मिक्स र कागती लगायतका सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ ।
सो संस्थाले हरेक वर्ष नेपालगन्ज कारागारका कैदी बन्दीका लागि रोजामा खाद्यान्न सामाग्री सहयोग गर्दै आएको छ । सोही प्रकारले बाँकेको नौबस्तास्थित कारागारमा रहेका कैदी बन्दीहरुका लागि नेपालगञ्ज मुस्लिम समाज बाँकेले आवश्यक खाद्यान्न सामग्री सहयोग गरेको समाजका अध्यक्ष अब्दुल हकीम हलवाईले बताए । उनले रमजान आत्मशुद्धि, सहिष्णुता र मानव सेवाको महिना भएकोले बढी भन्दा बढी सेवा र सहयोग गर्न सबैसँग आग्रह गरे ।
नेपालगञ्ज मुस्लिम समाज बाँकेका सचिव एवं प्रवक्ता मेराज अहमद हिमालयले समाजले कोरानाकालदेखिनै गरिब, असहाय र दुखीहरुको सहयोग गर्दै आएको जनाउँदै रमजानमा पनि हरेक वर्ष कैदीबन्दीलाई खाद्यान्न सहयोग गर्दै आएको बताए ।
नेपालगञ्ज र नौबस्ता कारागारमा खाद्यान्न सहयोग गरिएपछि कारागार प्रशासनले दुबै संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यले कैदीबन्दीहरूको मनोबल बढाउने बताए ।
मुस्लिम समुदायले रमजानको पवित्र महिनामा ३० दिन निराहार ब्रत बस्नुका साथै आफ्नो चल सम्पत्तीबाट २.५ प्रतिशत रकम दुखी र गरिबहरुलाई दान गर्नुपर्ने अनिवार्य नियम छ जसलाई जकात भन्ने गरिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार