दाङ : दाङको भालुबाङमा पत्रकारहरुका लागि लुम्बिनी प्रदेश स्तरीय ’निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’ विषयक एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
नेपाल पत्रकार महासंघको आयोजनामा गरिएको उदघाटन कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बागचन्दले विशेषगरी अनलाइन मिडियाबाट प्रकाशन–प्रशारण भइरहेका सामग्रीले महासंघको ध्यानाकर्षण गराइरहेको बताए । आफैंले आफैंलाई स्वनियमन र व्यवस्थित गर्न सके मात्र पत्रकारिता जिम्मेवार हुन सक्ने उनको भनाई छ । हरेक मतदाताले आफ्नो मताधिकार विवेकपूर्ण तरिकाले प्रयोग गर्न सकोस् भन्ने वातावरण निर्माणका लागि पत्रकारले भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले नियमित दायित्वको अंश अन्तर्गत ’निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’ का विषयमा अभिमुखीकरण गरिएको बताए । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन अलि गम्भीर र फरक ढंगले पत्रकारहरुले आफ्नो भूमिका निभाउनुपर्नेमा पोख्रेलको जोड छ । नेपाली मिडियाहरुले अहिलेको विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै सशक्त र ’प्रो–एक्टिभ’ ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
अभिमुखीकरण उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय रामराज पोख्रेल, लिला शाह, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, रुपन्देही जिल्ला अध्यक्ष दिनेश पाण्डेले बोलेका थिए । लुम्बिनी प्रदेश कार्यसमितिका पदाधिकारी र जिल्ला अध्यक्षहरुको सहभागितामा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा महासंघका उपाध्यक्ष बागचन्द र निवर्तमान अध्यक्ष विपुल पोख्रेलले सहजीकरण गरेका थिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । महासंघले सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गरिरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार