Listen LIVE

बाँकेमा दुई महिनाको अवधिमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

नेपालगञ्ज : बाँके जिल्लाभरमा दुई महिनाको अवधिमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके ट्राफिक प्रहरी कार्यालयका अनुसार गत फागुन र चैत महिनामा भएका  १ सय ४४ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु हुँदा ३० जना गम्भीर घाइते भएका थिए। उक्त २ महिनाको दुर्घटना अन्तर्गत फागुनमा ४ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते र ९२ जना सामान घाइते भएको बाँके ट्राफिक प्रहरीका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले जानकारी दिएका छन् ।

त्यसैगरी चैतमा भएको दुर्घटना ७ जनाको मृत्यु भएको हो। त्यस दौरान चैतमा १८ जना गम्भीर घाइते हुँदा १ सय २ जना सामान्य घाइते भएको आचार्यले बताए।

गत २ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाभरमा गरेको ट्राफिक कारबाहीमा ४७ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरिएको निमित्त प्रमुख आचार्यले जानकारी दिए।

ट्राफिक कारबाहीतर्फ फागुनमा मात्रै ३७ सय २६ सवारीसाधनलाई गरिएको कारबाहीमा २९ लाख  ५८ हजार रुपैयाँ र चैतमा २२ सय ८८ सवारीसाधनको कारबाहीबाट १७ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके ट्राफिक प्रहरी कार्यालय र  मातहतका इकाईले दिनहुँ दुर्घटना न्यूनीरणका लागी सचेतना कार्यक्रम  गर्दै आउँदा पहिलाको तुलनामा दुर्घटनामा कमी आएको देखिएको छ।

प्रतिक्रिया