Listen LIVE

गुलरियाका वडाहरु धमाधम बालविवाहमुक्त घोषणा हुँदै

नेपालगञ्ज : बर्दियाको गुलरिया नगरपालिकाका तीन वडा वडालाई एकै पटक बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाका वडा नम्बर ५, ६ र ७ लाई एक भव्य समारोहबीच औपचारिक रूपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुदाम्शु प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको बालबिवाहमुक्त वडा घोषणा समारोहमा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गुलरिया नगरपालिकाका सबै वडालाई बालविवाहमुक्त वडा घोषणा गरिने जनाउँदै सोही अभियान अन्तर्गत तीन वडा वडालाई घोषणा गरिएको बताए । 

उनले सो घोषणामा प्लान नेपाल र अन्य विभिन्न संघसंस्थाहरुको सहयोग तथा भूमिका निकै सराहनीय रहेको बताए । गुलरिया नगरपालिकालाई २०८१ साल भित्रै बालविवाहमुक्त पालिका बनाउने प्रतिवद्धता सो अवसरमा मेयर यादवले दोहोर्याए ।  

सो अवसर गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल र गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष, राजनीतिक तथा धार्मिक अगुवा, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहले गुलरिया नगरपालिकामा बालविवाह न्यूनीकरणका लागि सरकार र सामाजिक संघसंस्थाले गरेको प्रयासलाई विस्तृत प्रतिवेदनमार्फत प्रस्तुत गरिन् ।

सो अवसरमा बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली र कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बर्दिया जिल्लामा बालविवाह न्यूनीकरण र बाल अधिकार प्रवर्द्धनका लागि विभिन्न सरोकारवाला र संस्थाहरूको योगदान बारे चर्चा गरे । 

समारोहमा ११ भन्दा बढी समूहहरूले सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा ४०० भन्दा बढीको सहभागिता रहेको थियो ।  

कार्यक्रमको सञ्चालन गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले गरेका थिए । कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विक र सामाजिक परिचालन अधिकृत धिरजकुमार चौधरीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया