Listen LIVE

राष्ट्रिय झण्डा सिलाएर जीवकोपार्जन गर्दै इद्रिसी

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४, फुल्टेक्रा रोडमा टेलर पसल सञ्चालन गर्दै आएका ७२ वर्षीय अनवर अली इद्रिसी नेपाली राष्ट्रिय झण्डा सिलाउने पेसामा वर्षौंदेखि रमाइरहेका छन् ।

“मेरो बाजे, बुवादेखि नेपाली राष्ट्रिय झण्डा सिलाउने पेसामा हुनुहुन्थ्यो, मैले पनि सानैदेखि यो सीप सिकेँ, सीप सिकेपछि मैले पनि यही पेसालाई व्यावसायीक रुपमा अगाडि बढाएको छु ।,” इद्रिसीले भने, “अब म पछि भने यो पेसा यहीँ समाप्त हुनेभो, छोराले झण्डा सिलाउने पेसा गर्दैन, अन्य पेसामा हात हालेको छ ।”

“मैले आफैँले झण्डा सिलाउने पसल सुरु गरेको ४० वर्ष पुग्यो, सुरुमा कमाइ राम्रै थियो, झण्डा सिलाएर पुर्याउनका लागि देशका विभिन्न जिल्लाका कुनाकुनामा पुगेको छु, पहिला नेपालगञजमा मैले मात्र झण्डा सिलाउँथे, अहिले अर्को एउटा पसल पनि थपिएको छ ।,” इद्रिसीले भने, “पहिला जस्तो कमाइ पनि अहिले छैन, अर्डर पनि धेरै आउन छोड्यो, सायद छोराले यही भएर पनि होला यो पेसामा हात हालेन ।”

“पहिला राजाका पालामा सिलाएको झण्डा बोकेर देशका धेरै जिल्लामा पुगेको छु, राजाको सवारी हुँदा स्वागतका लागि गेट बनाइन्थ्यो, बनाइएका गेट र राजा जाने ठाउँमा जताततै राष्ट्रिय झण्डा लगाउने चलन थियो ।,” उनले भने, “स्वर्गीय राजा वीरेन्द्रसँग ३–४ पटक भेट पनि भयो, दिपायल, धनकुटा, सुर्खेत, धरान, पाल्पा लगायत धेरै ठाउँमा राजाको सवारीमा झण्डा लगेर पुगेको छु, सुर्खेत जाँदा त आर्मीको हेलिकप्टरमा झण्डा लगेर गएको थिएँ, अन्तिम पटक २०४० सालमा पाल्पाको तानसेनमा राजाको सवारी हुँदा यहाँबाट झण्डा लगेर पुगेको थिएँ, राजालाई मैले नेपाली राष्ट्रिय झण्डा बनाउँछु भनेँ राजाले टाउको हल्लाउनुभयो ।”

झण्डा सिलाउनका लागि विभिन्न जिल्लाका सरकारी कार्यालय तथा संघसंस्थाबाट अर्डर आउने गरेको तथा स्टेशनरी पसलबाट पनि अर्डर आउने गरेको उनले बताए । झण्डा लगाउने कतिपय सरकारी कार्यालय तथा संघसंस्थाले झण्डाको साइजको मापदण्ड समेत थाहा नभएको आफूले पाएको उनले बताए ।

“गृह मन्त्रालयले राष्ट्रिय झण्डाको साइजको एउटा मापदण्ड बनाएको छ, मापदण्ड अनुसार सरकारी कार्यालयहरुका लागि ८ बाइ ६ फुट (८ फुट लम्बाई, ६ फुट चौडाई), संघसंस्थाका लागि ६ बाइ ४ फुट, विद्यालयहरुका लागि ४ बाइ ३ फुट र टेबुलमा राख्ने तथा मन्त्रीको गाडीमा हाल्ने १२ बाइ ७ इन्चको सानो साइजको बनाउनुपर्छ ।,” उनले भने, “तर अहिले पछिल्लो समयमा खुलेका कतिपय पसलहरुले उक्त मापदण्ड अनुसार सिलाउँदैनन्, कार्यालयका हाकिमहरु पनि त्यति मतलव गर्दैनन्, जस्तो भएपनि कर्मचारीले लान्छन्, अफिसमा झुण्डाउँछन्, सरकारी मापदण्ड लत्याउँछन्, तर यो गलत हो ।”

पछि खुलेका पसलहरुले झण्डाको बोर्डरको कलर समेत नमिलाउने, उच्चस्तरको कपडाको प्रयोग नगर्ने, बिना साइजको बनाउने र सस्तोमा बिक्री गर्दै आएको उनको अनुभव छ । “कतिपय झण्डा सिलाउनेहरुले कमसल कपडा प्रयोग गर्ने गर्छन, झण्डाको बोर्डरको कलर समेत मिलाउँदैनन्, मापदण्ड अनुसार पनि हुँदैन र सस्तोमा बिक्री गर्छन् ।” इद्रिसीले भने, “मैले सिलाउने झण्डालाई ८ बाइ ६ लाई एक हजार, ६ बाइ ४ लाई सात सय, ४ बाइ ३ लाई तीन सय पचास र १२ बाइ ७ इन्चको लाई एक सय रुपियाँमा बिक्री गर्दै आएको छु, तर कमसल कपडा प्रयोग गरे ठूलो साइज वालामा दुई सयसम्मको रेट कम पर्छ ।”

इद्रिसीले नेपाली राष्ट्रिय झण्डा बाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको झण्डा र कपडाको नेम प्लेट पनि सिलाउने गरेको बताए । “जीवन यही पेसामा बित्यो, झण्डा बाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको झण्डा र कपडाको नेम प्लेट पनि सिलाउने गरेको छु, यसबाहेक अन्य कपडा कहिल्यै सिलाइन, जे जस्तो भएपनि यही पेसामा नै रमाइरहेको छु ।” इद्रिसीले भने ।

प्रतिक्रिया