दाङ : तुलसीपुर उपमहानगरपालिकाले प्रहरी चौकी उरहरीलाई भान्साघर निर्माण गरिदिएको छ । चार लाख ९५ हजारको लागतमा तीन कोठे भान्साघर निर्माण गरिएको हो ।
नगरप्रमुख टीकाराम खड्काले पालिकाभित्र रहेका प्रहरी युनिटमा जग्गा प्राप्ति भएको स्थानमा आवश्यक संरचना निर्माण गरिने बताए । उनले जग्गा प्राप्तिका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग गरिने बताए ।
जिल्ला प्रहरी प्रमुख अर्जुनप्रसाद तिमिल्सिनाले समुदाय र प्रहरीको सहकार्यमा अपराध नियन्त्रण गर्न सकिने बताए । उनले जिल्लामा ६८ वटा प्रहरी युनिटमध्ये १४ वटा भाडामा सञ्चालन रहेको र ११ वटाको जग्गा प्राप्ति भए पनि भवन निर्माण गर्न साधनस्रोतको अभाव रहेको बताए । उनले जिल्लामा चारसय जनशक्ति अभाव रहेको बताए ।
स्थानीय द्रोण बस्नेतले प्रहरी चौकीमा शौचालय र गोलघरको आवश्यकता रहेको बताए । उनले समुदायबाट निर्माण सुरु गरिएको प्रहरी चौकी थप संरचना निर्माणमा स्थानीय सरकारको सहयोग सकारात्मक रहेको बताए ।
प्रहरी चौकी उरहरीका प्रमुख भरतनाथ योगीले तीन कोठे भवनमा भान्सा मात्र नभइ विपदको समयमा राहत सामग्री व्यवस्थापन, निर्वाचनको समयमा निर्वाचन सामग्री व्यवस्थापन गर्न सकिने बताए ।
सामाजिक विकास समितिका संयोजक एवम ११ वडाध्यक्ष मानबहादुर रावतले तीन वटा वडा कार्यक्षेत्र र पालिकाको डुबान क्षेत्र समेत रहेकाले भवन बहुआयामिक रुपमा उपयोग गर्न सकिने बताए । कार्यक्रममा प्रहरी चौकी उरहरीलाई चार कठ्ठा जग्गा दान गर्ने तेजबहादुर बुढाथोकी र तीन कठ्ठा जग्गा दान गर्ने मानबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार