कैलाली : कैलालीको सिमसारमा यस वर्ष ५९ प्रजातिका दुई हजार ५२२ वटा जलपन्छी अभिलेख भएका छन् । हिउँदमा गरिएको गणनाको क्रममा सो सङ्ख्यामा जलपन्छी अभिलेख गरिएको हो ।
रैथाने र आगन्तुक जलपन्छीको सङ्ख्या, अवस्था, प्रजाति पत्ता लगाउनका लागि गत जनवरीमा विभिन्न तालतलैयामा जलपन्छीको गणना गरिएको थियो ।
गणनाको क्रममा विश्व रामसार क्षेत्रमा सूचीकृत नेपालको पहिलो चरा आरक्ष घोडाघोडी तालमा ३५ प्रजातिका एक हजार ४९७ जलपन्छी अभिलेख भएका छन् । यसैगरी, धनगढी उपमहानगरपालिकामा रहेको जाखोर तालमा १७ प्रजातिका ४५८ जलपन्छी अभिलेख भएका छन् । कैलाली र बर्दियाको सीमा क्षेत्रस्थित कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा विभिन्न २८ प्रजातिका ५५४ वटा जलपन्छी अभिलेख भएका छन् ।
बसन्ता वन क्षेत्रमा पर्ने रखौना, लौकाभौका, सोनियाँ रुपियाँ, घोडताल, रप्ताही लगायतका तालमा पनि पानी चराको गणना गरिएको थियो । बसन्ता वन क्षेत्रमा रहेका तालहरुमा जलपन्छीको संख्या निकै घटेको पाइएको चराविद् हिरुलाल डङ्गौराले बताए । उनले चराको प्राकृतिक वासस्थानको विनाश, मानवीय हस्तक्षेप लगायतका कारण जलपन्छीको संख्या घट्दै गएको बताए ।
जाडो छल्नका लागि उत्तरी ध्रुवबाट यहाँका सिमसारमा विभिन्न प्रजातिका पाहुना जलपन्छी पुगेको बेला हरेक वर्ष जलपन्छीको गणना गर्ने गरिन्छ । कैलालीको सिमसारमा सिलसिले हाँस, नादुन हाँस, मरुल, डुबुल्की चरा, हरिहाँस, कैइले टाउके हाँस, जलेवा, जलअप्सरा, बगाले सिमकुखुरा, हरिहाँस लगायतका रैथाने र आगन्तुक जलपन्छी पाइने गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार