Listen LIVE

प्रेमिकाको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण

नेपालगञ्ज : दैलेख घर भई नेपालगञ्जको वीपीचोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेटरको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको छ । बेलासपुरस्थित कोठामा सलले घाँटी बेरेर थापाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

हत्या आरोपमा बर्दिया घर भई नेपालगञ्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत ३५ वर्षीय प्रकाश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार, बुधबार राति हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई फोन गरेर “तिम्रो दिदीलाई मैले मारेँ” भनेका थिए । त्यसपछि बिहीबार राति करिब २ बजे उनी आफैं जिल्ला प्रहरी कार्यालय बाँके पुगेर आफूले निर्मलाको हत्या गरेको जानकारी प्रहरीलाई गराएपछि घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।

प्रहरी घटनास्थल पुगेपछि निर्मलाको शव कोठामा फेला पारेको थियो । निर्मलाको परिवार नेपालगञ्ज पुगेपछि शवको पोस्टमार्टम शुक्रबार मात्र गरिएको प्रहरीले जनाएको छ । प्रकाश विवाहित रहेको र उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामै बस्ने गरेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

परिवारका अनुसार, प्रकाश र निर्मला विगत तीन वर्षदेखि नेपालगञ्ज–१२ बेलासपुरमा सँगै बस्दैआएका थिए । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया