बर्दिया : नेपालमा विभिन्न बहानामा निर्माण व्यवसायीहरुले काममा ढिला सुस्ती गर्ने र समयमा काम सम्पन्न नगर्दा त्यसको सास्ती स्थानीयले बेहोर्नु पर्दछ, तर बर्दियाको एउटा यस्तो आयोजना जसले देशभरका निर्माण व्यवसायीलाई पाठ सिकाउन सफल भएकोे छ ।
बर्दियाको बहुप्रतिष्ठित आयोजनाका रुपमा हेरिएको गुलरिया नेपालगञ्ज सडक आयोजना समयभन्दा अगावै निर्माण सम्पन्न हुने भएपछि ग्रामीण भेगका स्थानीय खुसी देखिएका छन् । साँघुरो सडक त्यसमा पनि खल्टाखुल्टी भएको सडकमा हिँड्दाहिँड्दा दिक्क भएका उनीहरुलाई समयमै फराकिलो र चिल्लो सडक पाउने भएपछि खुसी देखिएका हुन् ।
गुलरिया नेपालगञ्ज सडक निर्माणका लागि २०७९ भदौ २६ गते हुलाकी सडक आयोजना बाँके र शर्मा एण्ड कम्पनी काठमाडौंबिच ठेक्का सम्झौता भइ काम सुरु भएको २८ किलोमिटर सडक समयवधि अगावै सम्पन्न हुने भएको हो । ०८२ को मङ्सिर २८ गतेसम्म सम्पन्न भइसक्नु पर्ने सडकको ९५ प्रतिशत काम सम्पन्न भएको हुलाकी सडक आयोजना बाँकेले जनाएको छ ।
मूल्य अभिवृद्धि करसहित तीन अर्ब १५ करोडको लागतमा करिब १२ किलोमिटर चारलेन र करिव १६ किलोमिटर डेडिकेटेड डवललेन सडक निर्माणका लागि शर्मा एण्ड कम्पनीसँग ठेक्का सम्झौता भएको र अहिलेसम्म कुल २७ किलोमिटर सडक कालोपत्रे गरी सकिएको हुलाकी सडक आयोजना बाँकेले जनाएको छ ।
आयोजनाका अनुसार निर्माण सम्पन्न गर्नुपर्ने समयभन्दा एक वर्ष अगावै सडक निर्माण सम्पन्न हुने चरणमा रहेकोे र सडकमा अब एक किलोमिटर कालोपत्रे र सडको बिचभागमा वृक्षा रोपणसहित विभिनन किसिमका जानकारी मुलक सङ्केत चिन्ह्रसहित रङरोगनको काम मात्र बाँकी भएको हुलाकी सडक आयोजनाका आयोजना प्रमुख लिला बहादुर भण्डारीले बताए ।
गुलरिया नेपालगञ्ज निर्माणले बर्दियाको भविष्य कोर्ने र समयमै निर्माण व्यवसायीले काम गरेर अन्य निर्माण व्यवसायीलाई समेत पाठ सिकाएको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताए । निर्माण कम्पनी शर्मा एण्ड कम्पनी धन्यवादको पात्र भएको समेत उनको भनाइ छ ।
सानो सडकमा यात्रा गर्दा दिक्क भएका समयमा शर्मा एण्ड कम्पनीले ठेक्का सम्झौता भएदेखि नै निरन्तर काम गरिरहेकाले समयमा निर्माण सम्पन्न हुने देखिएको बढैयाताल गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष तेजनाथ पौडेलले बताए । बर्दियामै ठेक्का सम्झौता भएर अलपत्र परेका एक दर्जनभन्दा बढी सडकहरु अहिलेसम्म निर्माण सम्पन्न हुन सकेका छैनन्, तर गुलरिया नेपालगन्ज सडक निर्माणले भने सानो सानो कामले बाँके धाउनुपर्ने बर्दियाका स्थानीयलाई उत्साहित बनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार