नेपालगञ्ज : खजुरा गाउँपालिकामा संविधान दिवस २०८१ विभिन्न कार्यक्रमसहित हर्षोल्लासका साथ मनाइएको छ । गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा सडक मर्मत, सरसफाई तथा वृक्षरोपण जस्ता विकासमुखी क्रियाकलापहरु विशेष रूपमा सम्पन्न गरिएका छन् । यस कार्यक्रमको मुख्य उद्देश्य गाउँपालिकाको हरित विकास र वातावरणीय सन्तुलन कायम गर्दै जनचेतना अभिवृद्धि गर्नु रहेको बताइएको छ ।
कार्यक्रमको सुरुवात प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाको संयोजनमा भएको थियो । गाउँपालिकाको कार्यालय अगाडि आयोजित कार्यक्रमको प्रारम्भ गाउँपालिकाका अध्यक्ष बिकले राष्ट्रिय झण्डा फहराएर गरे । संविधान दिवसको महत्व र यसको ऐतिहासिक पृष्ठभूमिबारे अध्यक्ष बिकले सम्बोधन गर्दै संविधानको रक्षा र समृद्धिको मार्गमा अग्रसर हुन सबैलाई आह्वान गरे । उनले संविधानले दिएको अधिकार र कर्तव्यको उचित उपयोग गर्नुपर्ने आवश्यकता पनि जोड दिए ।
गाउँपालिका अध्यक्ष बिकले भने “आज हामी संविधान दिवस मनाउने क्रममा खजुरा एक नम्बरदेखि धनौलीसम्मको खाल्डाखुल्डि भएका सडकहरूलाई मर्मत, सरसफाई तथा वृक्षरोपण गरेर खजुरालाई वातावरण मैत्री सहर बनाउने उद्देश्य राखेर यो अभियान तथा कार्यक्रम सम्पन्न गरिएको हो ।”
हुलाकी राजमार्ग नेपालगञ्ज र बर्दियाको गुलरिया जोड्ने सडक मुख्य भाग खजुरा हो तर खजुराकै पुलहरू जिर्ण अवस्थामा छन् । सिमेन्टको औसत आयु ५० वर्ष हुन्छ तर खजुराको पेडारीमा रहेको पुल निर्माण भएकै ५३ वर्ष भइसकेको छ । यो पुल जुन अवस्थामा जतिवेला पनि भत्किएर मानवीय क्षति समेत हुनसक्छ त्यसैले यो केन्द्रीय सरकारको उत्तरदायित्वको प्रश्न हो । केन्द्रीय सरकारको आँखा र ध्यान खजुरा गाउँपालिकामा जान सकेको छैन ।
सडकको यस्तो चुनौतीपूर्ण अवस्था र परिस्थितिका बावजुद पनि केन्द्रीय सरकारको ध्यान नजाँदा खजुरालाई केन्द्रीय सरकारले व्यवस्था गरेको स्थानीय जनता र स्थानीय सरकारको आशंका रहेको अध्यक्ष विक बताउँछन । डीपिआर भइसकेको सडक र पुल अहिलेसम्म ठेक्का नहुनु र पैसाको सुनिश्चित नगर्नु यो ठूलो दुर्भाग्यको कुरा हो । त्यसैले आजको यो संविधान दिवसमा सडक मर्मत तथा सरसफाई कार्यक्रम गरेर केन्द्रीय सरकारलाई सांकेतिक रूपमा सन्देश दिन खोजिएको हो“ पालिका अध्यक्ष विकले जानकारी गराएका छन् ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्षले संविधान दिवसका अवसरमा गाउँपालिकाले गरेको विकासमुखी क्रियाकलापहरूको प्रशंसा गरिन् । उनले भनिन्, “संविधान दिवस हामीलाई हाम्रो अधिकार र कर्तव्य सम्झाउने अवसर हो । आजको कार्यक्रमले हामीलाई गाउँको विकाससँगै वातावरण संरक्षणको महत्वबारे पनि सोच्न बाध्य बनाएको छ । हामी सबैको कर्तव्य हो कि गाउँपालिकाको हरियाली र स्वच्छता कायम राख्न निरन्तर योगदान गरिरहौं ।” उपाध्यक्षले स्थानीय बासिन्दालाई सधैं झैं गाउँको विकासमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरिन् ।
खजुरा गाउँपालिकाका स्थानीयबासी, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, विद्यार्थी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरीहरूले उत्साहका साथ सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागीहरूले आफ्ना घर, कार्यालय तथा सवारीसाधनहरूमा राष्ट्रिय झण्डा फहराएर राष्ट्रप्रतिको सम्मान प्रकट गरे ।
कार्यक्रमको अर्को मुख्य आकर्षण भनेको वृक्षरोपण अभियान रह्यो । गाउँको विकाससँगै वातावरण संरक्षणलाई प्राथमिकता दिने उद्देश्यले वृक्षरोपण गरियो, जसअन्तर्गत गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न जातका बिरुवाहरू रोपिएका छन् । यो अभियानले वातावरणीय सन्तुलन कायम गर्न र हरियाली बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
सडक मर्मत तथा सरसफाई कार्यक्रममा गाउँपालिकाका स्थानीयहरूले सक्रिय सहभागिता जनाए । गाउँपालिकाको सडकहरू मर्मत गरी सफा पारिएको छ भने वातावरणीय सफाईमा समेत विशेष ध्यान दिइएको छ । यसैक्रममा, स्थानिय जनप्रतिनिधिहरूले गाउँपालिकालाई स्वच्छ र हराभरा बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
संविधान दिवसको अवसरमा खजुरा गाउँपालिकाले दीपावली कार्यक्रम पनि आयोजना गरेको थियो। यस अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले संविधानको रक्षा र देशको समृद्धिको मार्गमा स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गर्दै जनताको सहभागिता अझै महत्वपूर्ण रहेको बताए ।
संविधान दिवस २०८१ को अवसरमा सम्पन्न कार्यक्रमले स्थानीयबासीमा देशप्रतिको सम्मान र कर्तव्यबोध जगाउन सफल भएको छ । कार्यक्रममा उपस्थितहरूले संविधान दिवसको महत्वलाई मनन गर्दै आगामी दिनमा गाउँको विकास र समृद्धिका लागि अझ ठूलो योगदान पुर्याउने अठोट गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार