नेपालगञ्ज : बाँके जिल्लाका दुई वटा बाल सुधार गृह र एउटा कारागारबाट भागेका कैदीबन्दीहरुमध्ये २२३ जना अझै फरार रहेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ बाँकेको नौबस्ता बालसुधार गृह, नौबस्ता कारागार र डुडुवाको आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहबाट भागेका ३४० जना कैदीबन्दी मध्ये २२३ जना अझै पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले तीमध्ये केही भारतमा प्रवेश गरेको र अन्यहरु नेपालमै कतै लुकेर बसेको हुन सक्ने जनाउँदै खोजी कार्य भइरहेको पनि बताए । उनका अनुसार बाँकेको डुडुवा गाउँपालिकाको आसमानपुरस्थित बाल सुधार गृहबाट भागेका ६६ जना बालबन्दी अझै नियन्त्रणमा आएका छैनन् भने नौबस्ता बाल सुधार गृहबाट भागेका ४४ जना बालबन्दी पनि पक्राउ परेका छैनन् ।
सोही प्रकारले नौबस्ता कारागारबाट भागेका ३६ कैदीहरू नियन्त्रणमा आएको र अझै ११३ जना नियन्त्रणमा आउन बाँकी रहेको प्रहरी प्रमुख जिसीले बताए । भदौ २४ गते जिल्लाका कारागार र बालबन्दीहरु मध्ये डुडुवास्थित जयन्दु बाल सुधार गहृबाट ११५ जना, नौबस्ता बाल सुधार गृहबाट ७८ जना र नौबस्ता कारागारबाट १४७ जना बालबन्दी र कैदीहरु फरार भएका थिए । भाग्ने क्रममा सुरक्षाकर्मीहरुमाथि आक्रमण गर्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर नौबस्ता बाल सुधार गृहका पाँच जना बालबन्दीको मृत्यु समेत भएको थियो ।
जिल्लाको पुरानो कारगार नेपालगञ्जस्थित कारगारबाट भने भदौ २५ गते कैदी बन्दीले भाग्ने प्रयास गरे पनि नेपाली सेनाले कारगारको सुरक्षा गरेकोले भाग्ने प्रयास असफल भएको थियो । सो क्रममा सेनाले गोली चलाउँदा भाग्न खोज्ने एकजना कैदीको खुट्टामा गोली लागेको थियो । जिल्लाका विभिन्न कारगार र बाल सुधार गृहबाट भागेका मध्ये केहीलाई बाँकेबाटै, केहीलाई नेपाल भारत जमुनाहा नाकाबाट र केहीलाई अन्य जिल्लाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार