Listen LIVE

'डिएपी' मल अभावले कञ्चनपुरका किसान समस्यामा

कञ्चनपुर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका अनुसार यहाँ सहकारीमार्फत किसानलाई मल बिक्रीवितरण भइरहेको भए पनि डिएपी मल अभाव छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक हेमराज जोशीले यहाँबाट ४५० मेट्रिक टन डिएपी र ५०० मेट्रिक टन रसायनिक मल युरिया बिक्री वितरण भइसकेको जानकारी दिए । 'हामीसित मौज्दात मल यहाँका १५० सहकारीमार्फत किसानसम्म वितरण गरिरहेका छौँ,' उनले भने, 'कञ्चनपुरका लागि हरेक वर्ष गहुँ र धानखेतीका लागि १०–१० हजार मेट्रिक टन डिएपी र युरिया मल आवश्यक पर्छ ।'

कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी प्रतिबोरा रु दुई हजार ३९४ र युरिया रु ९४४ मा बिक्री गरिरहेको जनाएको छ । 'हामीले जिल्लाभरि डिलरसिप लिएका सहकारीमार्फत नै भएको मल वितरण गर्दैछौँ', उनले भने, 'मल अभाव हुने विषय देशव्यापी समस्या हो । त्यसमा पनि सुदूरपश्चिमको कोटा कम छ ।'

उनले वार्षिक करिब ४०० मेट्रिक टन मल अभाव हुने गरेको बताए । खुला सीमानाका कारण कञ्चनपुरका विभिन्न स्थानमा भारतबाट समेत फाटफुटरूपमा मल आयात हुने गरेको छ ।

प्रतिक्रिया