दाङ : घोराही उपमहानगरपालिकाले थारू भाषा, साहित्य तथा कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले थारू सङ्घसंस्थासँग समन्वय गर्दै थारू भाषाका दर्जनौं पुस्तक प्रकाशन गरेको छ । नगर प्रमुख नरुलाल चौधरीले थारू कल्याणकारिणी सभा दाङ, लौव अग्रासन साप्ताहिक तथा अन्य थारू सङ्घसंस्थासँगको सहकार्यमा थारू समुदायको भाषा, साहित्य तथा कला, संस्कृतिको उजागर गर्ने उद्देश्यले विविध पुस्तक प्रकाशनमा सहयोग बताए ।
थारू भाषामा पत्रिका प्रकाशन गर्दै आएको लौव अग्रासन साप्ताहिकसँगको समन्वयमा थारू समुदायका परम्परागत तथा मौलिक गीत, कला, संस्कृतिलाई जगेर्ना गर्नलाई थारू भोजहा गीत, मांगर, माघम गाउने ढुमरु गीत, बर्कीमार, थारु लोकगीत भाग १, थारू कला तथा संस्कृतिलाई झल्काउने “थारू फोटु पोस्टा“ प्रकाशन गरिएको नगरप्रमुख चौधरील जानकारी दिए । त्यस्तै मांगर र बर्कीमार गीतहरू रेकर्ड गरी युट्युबमा समेत सार्वजनिक गरिएको छ ।
घोराही उपमहानगरपालिकाले दशैंमा नाचिने परम्परागत पैया नाच र बर्का नाचको वृत्तचित्र निर्माणमा समेत योगदान पुर्याएको छ । उपमहानगरपालिकाले आफ्नै प्रकाशनमार्फत थारू लोकमहाभारतसँग सम्बन्धित बर्कीमार गीतसमेत प्रकाशन गरेको छ । उक्त पुस्तकमा सम्ह्रौटि, लखागिरक् पैढार, जट्यक पैढार, राउवेढक पैढार, बनबासक् पैढार, घरबासक् पैढार, हँठ्यक पैढार, सुसुर्माक पैढार, बर्किमार पैढार लगायतका विषयवस्तु समेटिएको छ ।
यस्तै थारू समुदायको पहिचान झल्काउने अन्य प्रकाशनहरूमा थारू शब्दको उत्पत्ति, थारू जातिका थर, उपथर, डँगौरा थारूका थर निर्माण प्रक्रिया, घोराही उपमहानगरपालिकाभित्र रहेका थारू समुदायको पहिचान, थारू हस्तकला, लोककाव्य तथा गुर्वावाक जर्मौटी जस्ता विषय समेटिएका छन् । यस्तै थारू समुदायले मान्दै आएको अस्टिम्की, अट्वारी, सख्या लोककाव्य, बर्कीमार लोककाव्य, मांगर, ढुम्रु, मघौटा गीत, सज्ना मैना गीतलगायत थारू समुदायमा मनाइने चाडपर्व, पूजापाठ, संस्कार तथा संस्कृतिबारे चर्चा गरिएको छ ।
थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य भुवन चौधरीले घोराही उपमहानगरपालिकाले थारू समुदायको भाषा, कला तथा संस्कृतिको संरक्षणका लागि दस्तावेजीकरणमार्फत पुर्याएको योगदान प्रशंसनीय रहेको बताए । स्थानीय भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्धन राज्यको दायित्व हो, उनले भने, यसमा स्थानीय सरकारको भूमिका अझ महत्त्वपूर्ण रहन्छ ।
त्यस्तै घोराही उपमहानगरपालिकाका नगरप्रमुख चौधरीले घोराही उपमहानगरपालिकाले यहाँ रहेका सम्पूर्ण समुदायहरूको भाषा, साहित्य तथा कला संस्कृतिको संरक्षण तथा प्रवर्धनलाई प्राथमिकता दिँदै आएको बताए । “स्थानीय भाषा, कला, संस्कृति भनेको राज्यको गहना हो, उनले भने, “त्यसैले घोराही उपमहानगरपालिकाले थारू समुदायको मात्र नभई सबै समुदायको मौलिक पहिचानको संरक्षणका लागि निरन्तर सहयोग गरिरहेको छ ।
उनले स्थानीय आदिवासी तथा जनजाति समुदायहरूको कला संस्कृति प्रवर्धन भए मात्र देशको पर्यटन तथा समृद्धिको विकासमा टेवा पुग्ने बताए । यसले यहाँका आदिवासी जनजाति समुदायलाई आफ्नो भाषा, साहित्य तथा मौलिक कला, संस्कृति जगर्ने गर्नेमा प्रेरणा मिल्ने विश्वास आफूलाई रहेको नगरप्रमुख चौधरीको भनाइ थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार