यदुराज मिश्र/नेपालगञ्ज : वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मधेशी समुदायका घर, गाउँ, टोल र छिमेकमा गाइने ‘जोगिरा सारारारा’ माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गएको छ । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ । बाँकेका मधेशी समुदयामा गाइने यस प्रकारको जोगिराले होलीपर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने मधेशी संस्कृतिका जानकार विष्णु कुमाल बताउँछन् । उनले भने, ‘होलीपर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीत बिनाको होलीको परिकल्पना नै गर्न सकिँदैन । भनिन्छ होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो ।’
नेपालगञ्ज उपमहानगरपालिका बस्ने कुमाल पुर्खौली बाजा ढोलक र मंजिरा बजाई फागु गीत (जोगिरा) गाउन नपाएकोमा दुःखी मनले भने, ‘पहिले यस्ता जोगिरा वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाउँगाउँ, टोलटोल घुमेर फागु पर्वको आगमन भएको बारे गीत गाएर जानकारी दिने परम्परा थियो तर अहिले गीत गाउने बूढापाकाको कमी भएका कारण न त त्यति मात्रामा ढोल मंजिरा नै बज्छ, न त फागु गीत नै गाइन्छ ।’
आज होलीको मुख्य पर्व मनाईंदैछ, न त ढोल मंजिरा बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छ !’ वर्षौंदेखि जोगिरा गाउँदै आएका डुडुवा ६ का ७३ वर्षीय गँजरहा कुर्मीले भने । उनी भन्छन,‘मेरा समूहका धेरै साथीको मृत्यु भइसक्योे, बाँचेका हामीहरु पनि बुढा भएर थलिएका छौंँ तर अझै गाउने त रस छ, तर साथदिने कोही छैनन् ।’ वसन्त पञ्चमीसँगै होली (फागु) पर्वको सन्देश छर्ने जोगिरा...अब सुनिन छाडेपछि बाँकेसहित तराई मधेशका क्षेत्रमा यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार