नेपालगञ्ज : बर्दिया जिल्लाको मधुबनमा सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालाकालागि मानव बेचबिखन तथा ओसारपसार रोक्न दुई दिने तालिम सम्पन्न भएको छ ।
मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रणबारे सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालाहरुको क्षमता विकास गर्ने उदेश्यले सो तालिम संचालन गरिएको हो ।
मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत सञ्चालित सो तालिममा पालिकाका उपमेयर, वडा अध्यक्ष, बरिष्ठ प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, महिला बालबालिका शाखा प्रमुख, शसस्त्र प्रहरी निरीक्षक, सहायक प्रहरी निरीक्षक लगायत २३ जनाको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले मानव बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण गर्न स्थानीय सरकार, संघ सस्था, प्रहरी र स्थानीयहरुले सक्रिय भएर लाग्नु पर्नेमा जोड दिइन् । उनले समुदाय प्रहरी साझेदारी कार्यक्रम र सिमा क्षेत्रमा प्रहरी निगरानी बढाउनु पर्ने सुझाव पनि सो अवसरमा दिइन् ।
दुई दिने सो तालिममा मानब बेचबिखन तथा ओसारपसारको अवधारणा, यसका कारण, मानब तस्करी, शोषण, कानुनि प्रावधान, मानब दलालने अपनाउने तरिका, मानब तथा बालबेचबिखन रोकथामका उपाय, स्थानीय तहका प्रयास तथा भूमिकाका बारेमा माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक अधिवक्ता केशव कोइराला र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले सहजीकरण गरेका थिए ।
तालिममा समूह कार्य मार्फत मानब बेचबिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिकाका बारेमा प्रस्तुतीकरण गरिएको बाँके युनेस्को क्लबका उपकार्यकारी निर्देशक गोबिन्द प्रसाद लामिछानेले बताए । उदघाटन तथा समापन कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखा प्रमुख इन्द्रा चुनारा र शोभा शर्माले गरेकी थिइन् ।
यसअघि सो तालिमको उदघाटन कार्यक्रमको अध्यक्षता गर्दै मधुबन नगरपालिकाका प्रवक्ता मेक बहादुर गुरुङले मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गएको र यसलाई नियन्त्रण गर्न चुनौती देखिएकोले यसका बिरुद्ध लड्न स्थानीय सरकार, प्रहरी, संघसंस्था, स्थानीय निगरानी समूह सक्रिय भएर अभियान संचालन गर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर सावित्रा भाटको पनि उपस्थिति रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार